बुधबार, फाल्गुन ६, २०८२

गभर्नर बन्ने बाटो खुल्यो : कांग्रेस–एमालेको समर्थनपछि डा. भट्टको राजीनामा


कान्तिपथ


काठमाडाैं । नेपाल राष्ट्र बैंकको भावी गभर्नरका रुपमा डा. गुणाकर भट्टको नाम लगभग निश्चित भएसँगै उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन्।

सत्ता गठबन्धनका दुई प्रमुख दल — नेपाली कांग्रेस र नेकपा एमाले — बाट ‘ग्रिन सिग्नल’ प्राप्त भएपछि उनले शुक्रबार औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

नेपाल राष्ट्र बैंकमा बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्न कानुनी अस्पष्टता देखिएपछि भट्टले राजीनामा दिएर बाटो खुला बनाएका हुन्।

स्रोतका अनुसार बिहीबार साँझ कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भट्लाई आफ्नै निवासमा बोलाएर गभर्नर पदको प्रस्ताव गरेका थिए।

सो अवसरमा देउवाले भट्लाई “तपाईं गभर्नर बन्न तयार हुनुहोस्, हामी राजनीतिक सहमति जुटाइसकेका छौं,” भन्ने संकेत दिएका थिए।

गभर्नर पदको लागि सत्तारूढ दलहरूबीचको भागवण्डा अन्तिम चरणमा पुगेको छ।

यसअनुसार नेपाल राष्ट्र बैंकको नेतृत्व कांग्रेसले पाउने तय भएको छ, भने भट्लाई देउवाले व्यक्तिगत रूपमा पनि विश्वास गर्दै आएका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भट्लाई गभर्नर बनाउन मौन सहमति जनाएका छन्। दुई प्रमुख नेताको समर्थनले भट्लाई यस पदमा पु-याउने ढोका खोलेको छ।

अब डा. भट्टको गभर्नर नियुक्तिको टुंगो आउन मन्त्रिपरिषदको बैठक मात्र बाँकी छ।

सम्भवतः अबको मन्त्रिपरिषद् बैठकमै उनलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्ने निर्णय हुनेछ।

डा. भट्टको प्रोफाइल
वित्तीय क्षेत्रमा लामो अनुभव भएका डा. भट्ट नेपाल राष्ट्र बैंकभित्र विभिन्न महत्वपूर्ण जिम्मेवारीमा काम गरिसकेका छन्। उनीले मौद्रिक नीति, वित्तीय स्थायित्व, र बैंकिङ्ग नियमनजस्ता क्षेत्रमा गहिरो अध्ययन तथा कार्यानुभव संगालेका छन्।

उनको नियुक्तिसँगै राष्ट्र बैंकको नेतृत्वले नयाँ मोड लिने विश्वास गरिएको छ। आर्थिक स्थायित्व, मुद्रास्फीति नियन्त्रण, र बैंकिङ्ग सुधारका विषयमा उनी कडाइका साथ अघि बढ्ने आँकलन गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत