प्रिय कर्णालीवासीहरु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगायतका कर्णालीका पिछडिएका जिल्लाका जनताको स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको उद्देश्यले स्थापित एक स्वायत्त सरकारी विश्वविद्यालय नै हो । यो कर्णालीका जनताले गरेको सङ्घर्ष र बलिदानको जगमा पहिलो संविधानसभा विघटन हुनुपूर्व एक अभूतपूर्व संयोग र कर्णालीका जनताप्रतिको तत्कालीन संसदले देखाएको गम्भीर उत्तरदायित्वको प्रतिफल हो यो ।
यो स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारम्भदेखि नीजि हुँदै सरकारी विधेयकका माध्यमबाट स्थापना गर्न तत्कालीन जुम्लाका संविधानसभा सदस्य नरेश भण्डारीको नेतृत्वदायी भूमिका रह्यो भने धेरै कर्णालीप्रेमी सचेत राजनीतिककर्मी, समाजसेवी, कर्मचारी, पत्रकार, लेखकहरुको सक्रियता र सहभागिताको योगफलका रुपमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो ।
स्वाथ्य विज्ञान प्रतिष्ठान स्थापना पूर्व यो सम्भव छैन भन्ने एकथरिको धारणा थियो भने अर्कोथरि असम्भव भन्ने कुरा मूर्खहरुको डायरीमा मात्र हुन्छ भन्ने यथार्थलाई हृदयंगम गर्दै अहोरात्र खटेको पनि धेरै भएको छैन । जब ऐत पारित भयो, अञ्चल अस्पताललाई आधार मानेर स्थापना गर्ने आधारभूत नीतिको चौतर्फी विरोधका बाबजुद कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उद्घाटन भएको पनि झन्डै १३ वर्ष वितेको छ ।
१३ वर्षको यात्रामा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनेकौँ आरोह र अवरोह देखेको छ । हालसालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आफ्ना कार्यकालका उपलब्धिहरु सार्वजनिक गरेपछि धेरैको ध्यानाकर्षण भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले हासिल गरेका उपलब्धिहरु पूर्वपदाधिकारीहरुको कार्यकालमा के कति भए ? तिनको निरन्तरतामा के थपिए भन्ने विषयलाई गोलमोटल पारी प्रस्तुत गरेको हुनाले सम्पूर्ण उपलब्धि आफ्नै कार्यकालमा भएको झैं गरी डा. मंगलले प्रस्तुत गरेका छन्,त्यो कुनै पनि संस्थाका पदाधिकारीले उत्तराधिकार लिँदा पहिल्यै हासिल भएका उपलब्धिलाई पनि हालसालै मेरै कार्यकालमा भएको झैं गरी प्रस्तुत गर्दा केही भ्रम सिर्जना हुने गर्छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हासिल गरेका उपलब्धिहरु र सम्भावनाको चर्चा गर्दा आफ्ना कमिकमजोरीको पनि चर्चा गरी आत्मालोचना गरेको भए अझ सुन्दर हुन्थ्यो ।
डा. मंगल रावल तपाईं उपकुलपति भएपछि भएका खास र ठोस कामहरु : राकम कर्णालीमा सेटलाइट अस्पतालको विस्तारका लागि मन्त्रिपरिषद्बाट निर्णय गरी कार्यान्वयनका निम्ति अगाडि बढाउनु, लोकसेवा आयोगबाट स्थायी पदपूर्तिको थालनी गर्नु, प्रथम दिक्षान्त समारोह सम्पन्न गर्नु, पहिल्यै सुरु भएको एमविविएसको २० जनाको कोटालाई ५० मा पुर्याउनु, प्रतिष्ठानबाट ९ वटा रोगका लागि निशुल्क उपचार गरी सूचिकृत गराउनु, एमडी, एम एक का केही कार्यक्रम संचालनका लागि स्वीकृत गराउनु मुख्य उपलब्धि हुन् ।डा. पारस कुमार आचार्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो उपकुलपति हुन् । डा. मंगलले सबै आफूले गरेको जस्तै गरी प्रचार गरेका केही निर्णयहरु पूर्व पदाधिकारीहरुले नै कार्यान्वयन अगाडि भएका विषय हुन् । करिव १ अर्बको ३०० शैयाको आधुनिक अस्पताल भवन, प्रविणता प्रमाणपत्र तहको नसिंग र हेल्थ असिस्टेन्टजस्ता कार्यक्रम डा. पारसकुमार आचार्य र रजिष्टार श्याम लम्सालकै पालामा सुरु भएका कार्यक्रम हुन् ।
डा. राजेन्द्रकुमार वाग्ले दोस्रो उपकुलपति हुन् । उनको नेतृत्वमा एमविविएस चिकित्सा शिक्षा आयोगबाट २० सिट अध्ययन अध्यापनको स्वीकृति लिई सुरु गरेको, एमएस अध्यापन, चेरेचौरको निशुल्क ७०० रोपनी जग्गाको प्राप्त गरी ४०० रोपनी प्रतिष्ठानका नाममा नामसारी, ६६ करोडको शैक्षिक भवनको टेन्डर, प्रतिष्ठानमा स्कुल अफ मेडिसिन, स्कुल अफ नर्सिंग, स्कुल अफ पब्लिक हेल्थ, स्कुल अफ फार्मेसीसहितका चार महाविद्यालय स्थापना गरी अध्यापन सुरु, शैक्षिक कार्यक्रमका लागि १४ वटा घर भाडामा लिई कार्यक्रम संचालन गरेको, प्रतिष्ठानका लागि बेसिक साइन्सका एनाटोमी, फिजियोलोजी,वायोकेमेष्टि प्रयोगशाला स्थापना,प्रतिष्ठानमा हाल संचालित शैक्षिक कार्यक्रमको पाठ्यक्रम निर्माण सम्पन्न गरेको, प्रतिष्ठानमा आइआरसी स्थापना गरी जर्नल अफ कर्णाली एकाडेमी अफ हेल्थ साइन्सेस प्रकाशन सुरु गरेको, प्रतिष्ठानमा सामाजिक सेवा एकाई तथा पोषण पुर्नस्थापना केन्द्र स्थापना, हाल अस्पतालमा संचालित अधिकांश विभागहरुको स्थापना, कर्णालीका विभिन्न जिल्लाहरुमा विशेषज्ञ सेवा तथा स्वास्थ्य शिविर सञ्चालनको कार्य प्रा.डा. राजेन्द्रराज वाग्ले र रजिष्टार विश्वराज काफ्लेको पालामा नै सुरु भएका असल र प्रभावकारी कार्यहरु हुन् ।
यसरी पूर्व पदाधिकारीले गरेका उपलब्धिहरुलाई पनि संस्थागत उत्तराधिकारका आधारमा ग्रहण गर्नु राम्रो कुरा हो तर सबै आफैं गरेको झै गरेर सामान्य मानिसलाई दिग्भ्रमित पार्नु पटक्कै राम्रो होइन ।
पहिलो चोटी डा. पारसकुमार आचार्य, डा. राजेन्द्र वाग्ले हुँदै डा. मंगल रावल उपकुलपति हुँदा अनेकौँ कमजोरीहरु भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावमा भएको सुनियोजित आगजनीलाई कसैले विर्सिएका छैनन् । त्यसै गरी पछिल्लो र तेस्रो उपकुलपतिको कार्यकालमा डा. मंगलले राष्ट्रिय तथा स्थानीय मिडियामा आफू अनुकूलका समाचार र प्रचार सामाग्री तयार गरेर वितरण गर्ने तर कतै पनि यो आफ्नो कार्यकाल कमिकमजोरीका बारेमा चर्चा गरेका छैनन् ।
डा. मंगल रावलले खुबै प्रचार प्रसार गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विदेशी मुलुकका संस्थाहरु सँग भगिनी सम्बन्ध गरेको भने पनि त्यो भगिनी सम्बन्धबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ठोस उपलिब्ध केही हुन सकेको छैन भने अर्कोतिर अमेरिका दुई पटक, चीन, मलेसिया र साउथ अफ्रिका भ्रमण गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक बोझ मात्र बढाएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गौरव पूर्ण उपकुलपति पदमा रहँदासम्म संस्थागत क्षमता अभिवृद्धिका निम्तिभन्दा कर्मचारी तथा शिक्षकका बिचमा राजनीतिक मनमुटावको वातावरण सिर्जना गरी कहिल्यै प्रत्यक्ष त कहिले अप्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्न रहे ।
मंगल रावलको उपकुलपति हुने बालहठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रोफेसर सहित संस्थामा फेरिदियो । उपप्राध्यापक मंगलले राजनीतिक पहुँच र चलखेलका आधारमा उपकुलपति प्राप्त गरेपछि प्राध्यापकविहीन प्रतिष्ठान बनेको सर्वविदितै छ भने उनको सहप्राध्यापक बढुवा उपकुलपतिबाट विदा हुनुभन्दा केही दिन अघि मात्र २०८१ चैत ९ गतेको निणर्ण अनुसार २०८१ चैत १० गते मात्र भएको सार्वजनिक भएकै छ ।
प्रतिष्ठानलाई उपकुलपति मंगलले आफ्ना राजनीतिक आस्थाका कार्यकर्ता भर्नाको केन्द्र बनाएर संस्थालाई झन्डै बार्षिक ५० करोड जतिको व्यभार वृद्धि पनि गरेको छन् भने जर्नल अफ कर्णाली हेल्थ साइन्सेसको पनि नियमित प्रकाशन गरेका छैनन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिछडिएका अन्य जिल्लामा विशेषज्ञ सेवा दिइरहेकोमा डा. मंगलले त्यसलाई रोकेका छन् भने बिएमएस कार्यक्रम कुत्सित नियतका साथ बन्दै गरेका छन् । क्याथल्याव पनि अलपत्र नै छ भने मृगौला रोगीका लागि सुरु गरिएको डाइलसिस सेवा हल्ला मात्र छ, प्रविधि र प्रयोगको स्थिति शुन्य छ ।
अस्पतालजन्य फोहोर व्यवस्थापनमा ३ करोडको मेसिन खरिद गरिए पनि सुचारु अवस्थामा छैन । प्रतिस्पर्धाविना नै एमडी छात्र दिने कार्य पनि डा. मंगलले गरेका छन् । आत्मश्लाघा र मपाइत्वले गरिएका प्रचार सामाग्री छाप्न राष्ट्रिय र स्थानीय मिडियाहरुको दूरुपयोग पनि डा. मंगलले गरिरहेका छन् । आलोचनात्मक चेत भएका संचारकर्मीसँग दूरी र वैरभाव राख्ने डा. मंगलको प्रवृत्तिले कर्णाली स्वास्थ्य विज्ञानजस्तो गरिमामय संस्थामा कति कर्मचारी छन्, कति डाक्टर कार्यरत छन्, कति प्रशासनिक खर्च भन्ने प्रश्नको सरल र सार्वजनिक उत्तर पनि छैन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरुद्धमा अनेकौँ षड्यन्त्रहरु भइरहेका छन् । यो विशाल र स्वायत्त संस्थालाई आर्थिक, प्रशासनिक, शैक्षिक दृष्टिले समृद्ध र दीर्घजीवी बनाउन सबैले सकरात्मक योगदान गर्नुपर्नेछ । पहिलो रजिष्ट्रार श्याम लम्सालबाहेक अरु दुवै जनाको योग्यता राजनीतिक आवद्धता बाहेक केही देखिदैन ।
साँच्चिकै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नयाँ उचाईं दिने हो भने उपकुलपति प्राध्यापक र रजिष्ट्रार पनि स्वास्थ्य क्षेत्र बुझेकै जनशक्ति हुनु जरुरी छ । स्वास्थ्य क्षेत्र बुझ्दै नबुझेकाहरुलाई प्रशासनिक पदका नाममा जिम्मेवारी दिंदा पनि प्रभावकारिता नभएकोप्रति स्वास्थ्य मन्त्रालय पनि उत्तिकै सचेत हुनु जरुरी छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कसैको नीजि सम्पत्ति होइन । यो कर्णालीका जनताको रगत, पसिना र बलिदानीपूर्ण सङ्घर्षको उपज हो । यसलाई जति प्रभावकारी बनाउन सकिन्छ, त्यतिकै कर्णालीको स्वास्थ्य क्रान्तिलाई नयाँ उचाईंमा पु¥याउन सकिन्छ । डा. मंगलहरु उपलब्धिका हकदार मात्र होइनन् कमजोरीका भागिदार पनि हुन् ।
त्यसैले आफ्ना लागि नियम, कानुन, विनियम मिचिरहन प्रयत्न जजसले गरेका छन्, ती पदाधिकारी हुन् वा सामान्य कर्मचारी, ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकै नुन खाएर स्वास्थ्य विज्ञान डुवाउन लागेका धमिराहरु हुन् । तिनलाई बेलैमा चिनेर आलोचना गर्दै सुधारौँ न कि र्मचारीले पदाधिकारीको पदाधिकारीले सरकारको चाकडी गरेर समयको बर्बाद नगरौँ । शक्ति क्षणिक हुन्छ, सत्य अपराजेय । शक्ति पुजा गर्ने भाटकारिता कसैले नगरौँ । केही मानिसहरु पदाधिकारीहरुसँग नीजि स्वार्थका लागि झगडा गर्छन् र स्वार्थकै लागि चाकडी बजाउँछन् अपितु सत्यको पक्षमा र स्वास्थ्य विज्ञान प्रतिष्ठानको पक्षमा सधैँ सचेत रखबारी गरिरहनु हाम्रो कर्तव्य हो ।
उही कर्णालीप्रेमी
निशान जुम्ला
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ