बुधबार, फाल्गुन ६, २०८२

ओ साइली..!


कान्तिपथ


कुनै दिन अवसर मिल्यो भने सुनाउला
मैले खर्चेको त्यो समय
र गुमाएका सबै चिजहरु
थुन्चेभरी भएका भोगाईहरु
डोकोबाट चुहिएका खुसीहरु
चाल्नोबाट छानिएका यादहरु
ती सबै सबै सुनाउला ।

समय देउ मलाई, सुनाउनु छ धेरै कुरा
फाटेका यादहरु सुनाउनु छ
सुनाउनु छ वरपिपलका कथाहरु
खोलौला लुकाएर राखेका मायाका पोकाहरु
चानचुने पैसाझै गनौँला पालैपालो ।

समयले मलाई धेरै कुरा सिकाएको छ,
तिम्रो बाटो कुर्न सिकायो
बाटो कुर्दाकुर्दै बटुवाहरुले सिकाए धेरै कुरा
यी आखाहरु पोखरी होइनन्
तर समयसमयमा टिलपिल टिलपिल भरिए
बटुवाहरु मौसमी पनि हुँदै होइनन्
तर बद्ली रहे मौसम जस्तै
आउ सुनाउनु छ तिमिलाई बटुवाका कुरा ।

ओ साइली !
हिजोआज गाउघर रित्तो छ
प्यासेन्जर बिनाको थोत्रो गाडी जस्तै
सुसाउदैनन् खोलाका किनारहरु
गुनगुनाउदैनन् कोइलीहरु
उराठ लाग्दो छन् पाखा पखेराहरु
लिबिस्टिक लत्पतिएका तिम्रो ओठ जस्तै ।

भुल्यौ होला घाँस दाउरा गरेका ति दिन
पाखा पखेरामा गाईवस्तु चराएको
पोथ्राहरुमा लुकामारी खेलेको
अनि भुल्यौ होला सँगै खेताला गएको ।
यी सबै सबै भुल्यौं होला
आउँ सम्झाउनुछ ती दिनहरु
अनि तिर्नुछ मायाका गुनहरु ।

ओ साइली
मेरो गाउँ पनि तिम्रो शहर जस्तै भइसक्यो
पाक्नछाडे गुन्द्रुक र ढिढोहरु
भित्रिन थाले वर्गर र पिज्जाहरु
हराउन थाले खेलाता र गोठालाहरु
मेटिन थाले तिमी हिड्ने बाटोहरु
मेटिन थाले तिमीले लेखेका बाँसका अक्षरहरु
बाँझिन थाले तिमीले रोपेका खेतहरु ।

आउँ साइली
तिमीलाई सुनाउनुछ मेरो गाउँको कथा
फेरि रोप्नुछ बाँझिएका खेत
फलाउनुछ आशाको खेती
आउँ साइली फर्किएर आफ्नै गाउँ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत