मङ्लबार, बैशाख ३०, २०८२

रेशम चौधरी फेरि किन पक्राउ परे ? यस्तो छ कारण


कान्तिपथ


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी प्रज्ञाभवन कमलादीबाट पक्राउ परेका छन् ।

उनी पार्टी एकता घोषणा सभास्थलबाटै पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ । उनी पक्राउ परेपछि कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो । ‘हामीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेका हौं,’ बोहराले भने।’

२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

तर आममाफीविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सो रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।

सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएको थियो । सो घटनामा परी तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

यसैगरी चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् ।

आजै नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो । तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम स्थगित गरिएको छ ।

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौं’, राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत