काठमाडौँ, वैशाख २७ – माओवादी केन्द्र निकट जनवर्गीय संगठन अखिल (क्रान्तिकारी) मा संगठनात्मक अभ्यासमा महत्वपूर्ण परिवर्तन सुरु भएको छ। संगठनले फ्र्याक्सन इन्चार्ज हिमाल शर्मा र सह-इन्चार्ज पञ्चा सिंहलाई नियमित बैठकमा सहभागी नगराई नयाँ ढाँचामा काम थालनी गरेको छ।
प्रभावशाली उपाध्यक्ष सन्दिप पुनका अनुसार संगठनले अब स्वतन्त्र अभ्यासमा जाने ट्रायल गरेको हो। उनले भने, “हामीले लामो समयदेखि हुँदै आएको अनौपचारिक संरचनालाई अब अन्त्य गर्दैछौं। संगठन अब पूर्णतः स्वायत्त ढंगले अगाडि बढ्नेछ।”
उक्त बैठकमा संगठनको आगामी रणनीति, आन्दोलनका कार्यक्रम र संगठनात्मक पुनर्संरचनाका विषयमा महत्वपुर्ण समझदारी गरिएका छन्। अखिल (क्रान्तिकारी) का अघिल्ला कमिटीहरु महासचिव भन्दा माथिका पदाधिकारीको बैठकलाई कार्यालय बैठक भन्ने गरेकोमा ३२ वर्षे उमेरहद लागेर आएको नयाँ कमिटीले पदाधिकारी बैठकको तयारी बैठक मात्रै भनेको छ ।
संगठनभित्रै यस नयाँ अभ्यासलाई लिएर विभिन्न प्रतिक्रिया आउन थालेका छन्। कतिपयले यो निर्णयलाई सशक्त नेतृत्वतर्फको संकेत मानेका छन् भने केहीले नेतृत्वको परामर्शविहीन निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
तर उपाध्यक्ष पुन भन्छन्, “अब संगठनले आन्तरिक लोकतन्त्रलाई व्यवहारमा उतार्नेछ। सबै तहमा जवाफदेहिता र पारदर्शिता सुनिश्चित गरिनेछ।”
माओवादी निकट विद्यार्थी संगठनमा देखिएको यो नयाँ अभ्यासले संगठनभित्रको सन्तुलन र शक्ति संरचनामा परिवर्तन ल्याउने देखिएको छ। अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा हेडक्वार्टर भनिने टिमलाई जिताउन लागि परेको तर इतर समूह मानिने जनार्दन शर्मा पक्षको छर्लंग बहुमत भएकाले इन्चार्ज र सह-इन्चार्जलाई बैठकमा आउन सकस परेको बताईन्छ ।
अखिल (क्रान्तिकारी) को कार्यविभाजन लगायतको निर्णय गर्न अब बस्ने पदाधिकारी बैठकमा स्ववियु निर्वाचनको खर्च विवरणलाई जोडतोडले उठाउने तयारी गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ