बुधबार, फाल्गुन ६, २०८२

कथा : न अस्पताल, न डाक्टर, तर जीवन जोगाउने प्रहरी


गणेश विक


काठमाडौं । सडकको तातो डामर, जेठको उकुसमुकुस चर्को घाम, अनि तीव्र गति बढाउँदै गुडिरहेका गाडीहरू । हरेककाे आ-आफ्नो गन्तव्य छ, कसैको चासो छैन । सडक किनारमा लम्पसार परेकी एउटी महिलाको चिच्याहटप्रति। न गाडीहरु रोकिन्छ, न मान्छे।

उनका हातहरू काँपिरहेका थिए, ओठ सुकिसकेका थिए। सास फेर्नसमेत गाह्रो भइसकेको थियो। उनले न त कसैलाई बोलाउन सक्थिन्, न त आफैं उठ्न सक्थिन्।

तर छट्पटाइरहेकी थिइन्, २४ वर्षीया चन्द्रा आचार्य। एउटी गर्भवती महिला, एउटी आमा, जसको भित्र जीवन हुर्किएको थियो।

त्यो सास त्यो दिन बिस्तारै मर्ने छायाँमा पुगिसकेको थियो। पीडा यति धेरै, कि चिच्याउनु पनि साससंगै रोकिएको जस्तो लाग्थ्यो। आँखा रसाएर बन्द हुन्थे, र फेरि आशाको ढाेका खुल्थे।

चन्द्राका श्रीमान् हजारौं किलोमिटर टाढा भारतको कुनै अनजान कुनामा कामकाे सिलसिलामा गएका थिए। उनी त बाटो सडकमा थिइन्, तर अस्पतालको होइन, जीवन र मृत्युलाई छुट्याउने साँघुरो मोडमा।

त्यही बेला सरकारी पोशाकमा, जुत्ताको छालामा थकित पाइला तेस्र्याउँदै आइन्, प्रहरी जवान चन्द्रिका देउवा।

उनले न शिरमा टोपी सम्हालिन्, न हातमा अधिकारको लाठी समाइन्। समाइन् त एउटी आमाको थरथराउँदो हात।

“नडराउनू दिदी, म छु…”
ती शब्दहरु चन्द्राको कानमा मात्रै हैन, पेटभित्रको जीवनसम्म पुगे। त्यो थियो जीवनको पहिलो छाम, जो आमाले छोरीका लागि महसुस गरिन्।

देउवाको काखमा चन्द्रा थिईन्, देउवाको हिम्मतले आँसु थाम्यो। अनि एकपटक होइन, पटकपटक उनलाई सुम्सुम्याइन् “सास लिनुस्, केही हुँदैन, अब अस्पताल पुग्छौं।”

केही समयका लागि चन्द्रा आचार्य प्रहरी थिइनन्, र देउवा आमा।

सडक प्रहरी चौकी थियो, र पेटको बच्चा अस्पतालभन्दा सुरक्षित चन्द्रिकाको साथमा।

दु:ख, पीडा, र असहायता, ती शब्दहरूले वर्णन गर्न सक्दैनन् त्यो क्षण।
त्यो क्षणमा, न एम्बुलेन्स, न प्रसुती गृह। थियो त मानवीय हिम्मत।

अस्पताल पुग्दा, अस्पतालका गेटमा उभिएको स्टाफले सोध्यो, “कसरी ल्याउनु भो?”

देउवाले मुस्कुराउँदै भनिन्,”उहाँ आमाकी आमा बन्न लाग्नु भएको थियो, म आज उनकी आमा बनें।”

चन्द्राले सुत्केरीको शय्याबाट एकचोटि देउवालाई हेरेर केवल यति भनिन् “तपाईं नभएको भए, म मर्न सक्थें… बच्चा त टाढैको कुरा थियो।”

त्यस दिन पद्मा अस्पतालमा बच्चाको जन्म भयो, तर साक्षी बनिन् एउटी प्रहरीकी असलियतको।

अस्पताल पुगेपछि, चिकित्सकले भने, “सानाे ढिला भएको भए, आमासहित बच्चाको ज्यान जान सक्थ्यो।”

आज देउवालाई प्रशंसा पत्र दिइयो। फोटो खिचियो। पुरस्कार दिइयो।
तर चन्द्राको नजरमा त्यो कुनै कागज होइन। त्यो जीवन बचाउने प्रमाण हो।

यस देशमा, जहाँ प्रहरीलाई कठोरताको प्रतिक मानिन्छ, देउवाले देखाइन्, प्रहरी पनि त आमा हुन सक्छिन्। आँखा रसाउने, दुखमा आँखा जुधाउने, र मृत्युसंग जुधेर जीवन जिताउने।

यो कथा एउटा सिपाहीको होइन, सहरको भीडभित्र हराइरहेकी संवेदनाको हो।

जहाँ सडकमै जन्मिन्छ जीवन, सडकमै देखिन्छ ममता। र सडकमै भेटिन्छन् ती नायक । जसले कोही नहेरेको बेला, जीवनको अर्थ बदलिदिन्छन्।

त्यस दिन चन्द्रा आचार्य सडकमा थिएनन्, उनी चन्द्रिका देउवाको काखमा सुरक्षित थिइन्।

त्यस दिन प्रहरी चौकी चौकी थिएन, त्यो थियो एउटा सुत्केरी गृह।

र त्यो दिन पुरस्कारको दिन थिएन, त्यो दिन थियो, जब एउटी आमाले आमाकै माया पाईन्, एउटी प्रहरीबाट।

त्यसपछि प्रहरी चाैकी खैरानामा कार्यरत प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले
प्रसंशा पत्रसहित र रेकर्डमा जनिनेगरि पुरस्कृत गरे ।

राणाले चन्द्रिकालाई सम्मान पत्र थमाउँदै भने,
“संवेदनाको पहरेदार बन्नु, प्रहरीको सबैभन्दा ठूलो जिम्मेवारी हो। चन्द्रिका देउवाजस्ता प्रहरी कर्मचारीहरूले संगठनको गौरव बढाएका छन्।”

भीड ताली बजाइरहेथ्यो।
तर चन्द्रिकाको मनमा बजिरहेको थियो ।चन्द्राको त्यो “धन्यवाद दिदी” भन्ने मौन शब्द।
त्यो कदर थियो, जुन कुनै मञ्चले दिन सक्दैन, कुनै प्रमाणपत्रले बोक्न सक्दैन।

चन्द्रिका देउवा आज पनि ड्युटीमा छन्।उही अनुशासन, उही समर्पण।
तर ती दिनको अनुभवसँगै उनी अब एक फरक व्यक्तित्व बनिसकेकी छन्।

कहिलेकाहीँ उनी आकाश हेर्छिन्, त्यो बच्चाको अनुहार सम्झिन्छिन्।
भन्छिन्, “म प्रहरी बनेँ र अपराधी समाउन त सकिएला, तर त्यो दिन म नबनेको भए एउटी आमाले सास फेर्न पाउँदिनथिन्, सायद त्यो बच्चा संसार नै देख्न सक्दैनथ्यो।”

यो कथा आज हामी सम्झनुपर्छ किनभने प्रायः हामी प्रहरी भनेपछि लाठी, करेन्ट, मुद्दा र डर सम्झन्छौं। तर सबै प्रहरी उस्तै हुँदैनन्। कोही प्रहरी हुन्छन्, जो सडकमै आमाको छायाँ बन्छन्।

सही समयमा लिएको एउटा संवेदनशील निर्णय कसरी जीवन जोगाउन सक्छ ।

चन्द्रिका देउवाले त्यो प्रमाणित गरिन्।
कसैको आँसु पुछ्न, सास सम्हाल्न, अनि भित्र हुर्किरहेकी बच्चालाई संसारमा ल्याउन उनले आफ्नो कर्तव्यभन्दा माथि उठेर काम गरिन्।

साँच्चै, सबै प्रहरी उस्तै हुँदैनन्। कोही प्रहरी राम्रा पनि हुन्छन्। कोही, देउवा जस्ता।

सत्यतथ्य घटनाका आधारमा तयार पारिएको कथा हाे : सम्पादक



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत