बुधबार, फाल्गुन ६, २०८२

एसएसपी अधिकारीद्वारा लागूपदार्थविरुद्ध समुदायिक सहकार्यको आह्वान


देव चौलागाईं


लागूपदार्थ नियन्त्रण, सामाजिक सचेतना र शान्ति सुरक्षाको प्रवर्द्धनलाई लक्ष्य बनाएर काठमाडौंको नरेफाँटस्थित नेपाल सेन्ट्रल हाई स्कूलको प्राङ्गणमा एक भव्य नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत आयोजित उक्त कार्यक्रम कोटदेवी विद्यानगर समाज सुधार समितिको अगुवाइमा तथा सामुदायिक सेवा तथा विकास समाज, प्रहरी प्रशासन, कोटदेवी स्कुल, जागृति स्कुल, नेपाल सेन्ट्रल हाई स्कूल लगायत विभिन्न शैक्षिक संस्थाहरूको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रम कोटदेवी विद्यानगर समाज सुधार समिति अध्यक्ष देव चौंलागाइको अध्यक्षता तथा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, अभिभावक, शिक्षक, प्रहरी अधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसएसपी विश्व अधिकारीले समुदाय–प्रहरी साझेदारीलाई सामाजिक रुपान्तरणको बलियो आधारका रूपमा उल्लेख गर्दै भने, “समुदाय र प्रहरीले जब एउटै मञ्चमा उभिएर समस्या पहिचान र समाधानमा सहकार्य गर्छन्, त्यहीँबाट शान्ति, सुरक्षा र समृद्धिको यात्रा सुरु हुन्छ।” उनले प्रहरी प्रशासन समुदायसँग मिलेर समस्याको गहिरो विश्लेषण गर्ने र समाधानमा साझा उत्तरदायित्वका साथ अगाडि बढ्ने नीति अवलम्बन गरिरहेको स्पष्ट पारे।

उनले लागूपदार्थको चपेटामा परिरहेका युवाहरूप्रति चिन्ता व्यक्त गर्दै भने, “युवा शक्ति राष्ट्रको मेरुदण्ड हो। यदि उनीहरू गलत बाटोमा लागे भने केवल एक व्यक्तिको भविष्य होइन, सम्पूर्ण समाजको भविष्य अन्धकारमय हुन सक्छ।” एसएसपी अधिकारीले विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै अभिभावक, शिक्षक, समाजसेवी र प्रहरीबीच गहिरो समन्वय आवश्यक रहेको बताए।

एसएसपी अधिकारीले समुदाय–प्रहरी साझेदारीलाई समाजमा शान्ति, सुरक्षा र आपसी विश्वासको जग मजबुत पार्ने महत्वपूर्ण माध्यमका रूपमा चित्रित गरे। उनले भने: “समुदाय–प्रहरी साझेदारी भनेको केवल एक कार्यक्रम होइन, यो विश्वास, सहयोग र साझा उत्तरदायित्वमा आधारित संरचना हो। जब प्रहरी र समुदायबीच गहिरो समझदारी र निरन्तर संवाद हुन्छ, तब मात्र अपराध नियन्त्रण र सामाजिक रूपान्तरण सम्भव हुन्छ।”

उनका अनुसार यस्तो साझेदारीले केवल कानुनी सहायता मात्र होइन, सामाजिक सचेतना, युवा संरक्षण, विद्यालयस्तरको सुरक्षामूलक शिक्षा र लागूपदार्थ नियन्त्रणजस्ता क्षेत्रमा समेत दीर्घकालीन प्रभाव पार्ने गर्छ।

एसएसपी अधिकारीले शिक्षा, परिवार र समाजको त्रिवेणी सहकार्यले मात्र युवाहरूलाई जोखिमपूर्ण बाटोबाट जोगाउन सकिने उल्लेख गर्दै यस्तो साझेदारीलाई ‘सामाजिक सुरक्षाको मेरुदण्ड’ को संज्ञा दिए।

कार्यक्रममा वक्ताहरूले लागूपदार्थ, लैंगिक हिंसा, साइबर अपराध, र किशोर/किशोरीहरूलाई लक्षित सामाजिक जोखिमबारे तथ्यपरक प्रस्तुतिहरू दिए। उनीहरूले शिक्षा प्रणालीभित्र सुरक्षा सचेतना समावेश गर्नुपर्ने तथा व्यक्तिगत अभियानभन्दा सामूहिक प्रयासले मात्र दिगो समाधान सम्भव हुने तर्क गरे।

नागरिक सुनुवाईको समापनमा सहभागी स्थानीय प्रतिनिधि, अभिभावक तथा शिक्षकहरूले सामूहिक प्रतिबद्धता हस्ताक्षर गर्दै लागूपदार्थविरुद्धको सशक्त सन्देश सार्वजनिक रूपमा प्रस्तुत गरे। सहभागीहरूले यस्तो अभियानलाई निरन्तरता दिनुपर्ने र प्रहरी–समुदायको सहकार्य अझ प्रभावकारी बनाउनु पर्नेमा एकमत व्यक्त गरे।

आयोजक संस्थाहरूका अनुसार यो कार्यक्रमले समुदाय–प्रहरी साझेदारीको प्रभावकारी अभ्यासमार्फत नागरिक सरोकारका विषयमा संवाद, सुनुवाई र सहकार्यलाई प्रोत्साहन गर्दै सामाजिक रूपान्तरणतर्फ सकारात्मक संकेत दिएको छ। सहभागीहरूको सक्रियता र प्रतिबद्धताले यो पहललाई अझ सशक्त र दूरगामी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. यज्ञराज भट्टले लागू औषध विरोधी गीतिनाटक प्रस्तुत गर्नुभएको थियो, जसले सहभागीहरूमा भावनात्मक सन्देश प्रवाह गरेको थियो। त्यसपश्चात शान्ति सुरक्षासम्बन्धी नागरिक सुनुवाइ सत्र सञ्चालन गरिँदा सहभागीहरूले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ प्रहरी अधिकारीहरूले प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन सामुदायिक सेवा केन्द्रका महासचिव पदम कुमार रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य कोटदेवी विद्यानगर समाज सुधार समितिका सचिव मुक्तिराज आचार्यले ब्यक्त गरेका थिए।

त्यसैगरी, समाजसेवी सार्किमान लामा, कोटदेवी पब्लिक स्कुलका प्र.अ. एवं प्याप्सन काठमाडौं अध्यक्ष नवराज भट्ट, नेपाल सेन्ट्रल हाई स्कुलका प्र.अ. सुर्य भण्डारीलगायतले आफ्ना मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र प्रभावकारिता प्रति समर्थन जनाएका थिए।

कार्यक्रममा स्थानीय टोल सुधार समिति, विभिन्न सामाजिक संस्था, अभिभावक, विद्यालयका विद्यार्थी र बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत