बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • जीवनशैली
  • बुबाको मृत्युपछि जीवनको जिम्मेवारी सम्हाल्दै पत्रकारितामा अघि बढिरहेकी टिका

बुबाको मृत्युपछि जीवनको जिम्मेवारी सम्हाल्दै पत्रकारितामा अघि बढिरहेकी टिका


कान्तिपथ


काठमाडौं । बागलुङका हरियाली डाँडापाखा, शीतल बतास, र पुराना पर्खालहरूमा लुकेको छ टिका रसाइलीको बाल्यकाल। त्यो बाल्यकाल जुन उज्यालो थियो । बुबाको मुस्कान, आमाको मायालु अँगालो, दाईकाे साथ र साना बहिनीहरूसँगको हाँसोले भरिएको।

तर जीवनले कहिलेकाहीँ यति कठोर मोड लिन्छ, जसले समयभन्दा अघि परिपक्व बनाउँछ। टिकाका बुबा तुलबहादुर विकको असामयिक निधनपछि उनको परिवारको समग्र जिम्मेवारी काँधमा आयो। बुबा गुमाउनु भनेको एकजना अभिभावक गुमाउनु मात्रै होइन, त्यो भनेको भरोसाको आधार, सुरक्षा र मनोबलको श्रोत नै हराउनु हो।

“बुबा गुमाएपछि म मात्र टिका रहिन, म दाइ र आमाको सहारा बनिन्, बहिनीहरूको अभिभावक बनिन्, र बुबाको अधुरो सपना बोकेर हिँड्ने सहयात्री पनि,” उनी भन्छिन्। बुबाको सम्झना, एउटा अदृश्य सम्बल बुबाको अनुहार सम्झिँदा आज पनि टिकाको आँखामा आँसु आउँछ।

म सानो छँदा बुबाले भनेका थिए, “छोरी, तिमीले कलम समात्ने हो, समाज बदलिन्छ।” त्यो शब्द आज पनि उनको कानमा गुञ्जिरहन्छ।

राजधानीकाे सुनसान रातहरूमा, जब सबै निदाउँछन्, उनी भने बुबाको फोटो हेरेर केही शब्दहरू लेखिरहेकी हुन्छिन्। ती शब्दमा पीडा हुन्छ, तर त्यसभित्र आशा मिसिएको हुन्छ।

गाउँकी छोरी सहरको पत्रकार

गाउँमा जन्मिए पनि सहरमा शिक्षाको पछि लागिन् टिका। बुबाको सपना पुरा गर्न। बानेश्वरको एउटा कोठा भाडामा बसेर दिनभर पढाइ, बेलुका जागिर र रातको समय कलमसँग बिताउँथिन्। कतिपटक त भोकै सुतिन्, तर कलम कहिल्यै नछोडिन्।

उनका समाचारहरूमा सहरको शैली छैन, तर गाउँको आत्मा छ। उनका हर शब्दमा बुबाको अनुहार झल्किन्छ, र गाउँको माटोको सुगन्ध आउँछ।

पत्रकारिता : केवल पेशा होइन, श्रद्धा हो

टिकाको लागि पत्रकारिता जागिर होइन, त्यो ती आँसुहरूको उत्तर हो, जुन उनले रातको अँध्यारोमा पोखिन्। त्यो विश्वासको निरन्तरता हो, जुन बुबाले उनमा राखेका थिए।

“जब म समाचार लेख्छु, मलाई लाग्छ, बुबाले मलाई हेरिरहनु भएको छ,” उनी भन्छिन्। “त्यसैले म सत्य लेख्न डराउँदिन। बुबाले सिकाएको नै यही हो।”

शब्दहरूमा साहस, हर शब्दमा बुबाको आत्मा

टिकाको डायरीका पानाहरू केवल लेखाइ होइनन्। त्यो उनका आँसुहरूको दस्तावेज हो। उनले भोगेका रातहरू, भोगेका निन्द्रा हराएका बिहानीहरु, सबै उतारचढाव शब्द बनेर बगेका छन्।

“धेरैपटक मन भतभती पोल्थ्यो। हरेक दिन बिहान उठ्दा बुबा थिएनन्। तर हरेक चोटले मलाई अझ बलियो बनायो। म रोए तर भत्किएकी छैन,” टिका भन्छिन्।

भावनाको गहिराइबाट कलमको धार

टिका आजको दिनमा पत्रकारिता क्षेत्रमा उदीयमान नाम हो। उनीसँग कुनै ठूलो टिम छैन, न कुनै भव्य अफिस। तर उनीसँग छ एउटा कलम र बुबाको अधुरो सपना।

उनका समाचारहरुले कहिलेकाहीं थलापरेकाे स्थानीय सरकार हल्लिएको छ। अन्यायमा परेका महिलाहरूको आवाज उठेको छ । र गाउँको टोलमा परिवर्तनको लहर चलेको छ।

आमाको छोरी, दाइ/बहिनीहरूको अभिभावक र बुबाको सपना बोकेकी चेली

टिकाको आमाले छोरीलाई छोरा सरह ठानिन्। उनी भन्छिन्, “टिका मेरो छोरी मात्रै होइन, मेरो आत्मबल हो।”

टिकाले सायद सहरको चमकधमक देखेकी छैनन्, तर गाउँको अँध्यारोमा उज्यालो बन्ने सपना देखेकी छिन्।

उनले आफ्नो जीवन केवल जिउन मात्र चाहिनन्। उनी आफ्नो बुबाको नाम उज्यालो बनाउने संकल्पमा छन्।

“बुबा, म अझै पनि तपाईँको छोरी हुँ।
तपाईँको अभावले दिनहरू गाह्रो बने,
तर म तिनै दिनहरूलाई मेरो प्रेरणा बनाउँदैछु।

तपाईँले देखेको समाज परिवर्तनको सपना, अब मेरो सपना बनेको छ।
म अझै लेखिरहेकी छु :-गाउँको कथा, आमाको आँसु, दाइ बहिनीहरूको मुस्कान र तपाईँको आत्माको शान्तिका लागि।”

टिकाको डायरीबाट एक भावुक लेख

फेरि एक कवितामा उनी लेख्छिन्:

तपाईं गएपछि मेरो जीवन पुस्तक जस्तै भयो।
केही पाना च्यातिएका, केही भिजेका
अनि केही पानामा म अझै पनि लेखिरहेकी छु । तपाईंको सपना, मेरो संकल्प।

बुबाको मृत्युपछि पनि टिकाका लागि बुबा मरेका छैनन्। उनी शब्दमा बाँचिरहेका छन्, मूल्यमा बाँचिरहेका छन्। बुबाले सधैं सिकाएका थिए, “साँचो बोल, कमजोरको पक्षमा उभिइ।” यही संस्कार टिकाको पत्रकारिताको मेरुदण्ड बन्यो।

उनले आफ्नो कलमलाई परिवर्तनको हतियार बनाएकी छन्। कलम उनका लागि दुःख पोख्ने माध्यम मात्र होइन। त्यो बुबाको उपस्थितिको अनुभूति पनि हो। धेरैपटक उनी समाचार लेख्दाखेरि आँखाभरि आँसु हुन्छन्, तर हात काँपँदैन।

युवा पत्रकारसँग भेट : विश्वास, मार्गदर्शन र पत्रकारिता यात्रा

बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, काठमाडौं। जहाँ पत्रकारिता स्नातक पढ्दै थिइन्, टिका रसाइली। जीवन संघर्ष, पारिवारिक जिम्मेवारी, र कलमप्रतिको दृढताबीच उनी पत्रकारिताको औपचारिक ज्ञानमा डुबिरहेकी थिइन्। त्यही समयमा उनले भेटिन्, एक अनुभवी र प्रतिबद्ध पत्रकार, गणेश विकलाई।

पत्रकार विक, सिर्जनशील पत्रकारिता क्षेत्रमा एक दशकभन्दा बढी विभिन्न अनलाइन मिडियामा लामो समयदेखि सक्रिय, खप्तडटिभीका अध्यक्ष तथा प्रधान सम्पादक, समाजवादी प्रेस संगठन नेपालको उपत्यका प्रदेश कोषाध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय पार्षद, साथै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य र सूचना अधिकारी समेत छन्। पत्रकारितालाई केवल पेशा नभई, सामाजिक न्यायको अभियान ठान्ने व्यक्ति हुन् विक।

भावनात्मक सम्बन्धको सुरुवात

पत्रकार विक र टिकाको भेट बानेश्वर क्याम्पसमा भएको थियो । दुवै जना पत्रकारितामा स्नातक पढ्दै थिए । एक सामान्य संवादबाट सुरु भएको भेट। विस्तारै आत्मीयताको सम्बन्धमा रूपान्तरण भयो।

टिकाले यस भेटलाई सम्झँदै भन्छिन् :-
“त्यो भेट मेरो पत्रकारिता यात्राको नयाँ मोड थियो। म एक्लो थिए, भावनाले, जिम्मेवारीले, भविष्यप्रतिको अन्योलले। तर पत्रकार विकको साथले मलाई आत्मबल दियो।”

पत्रकार विकले टिकामा निहित समर्पण, संवेदना र लेखनशक्ति देखे। उनले महसुस गरे, यो केवल विद्यार्थी होइन । यो देशको दुर्गम गाउँबाट उठेको आवाज हो, जसले समाजलाई केही दिन सक्छ।

‘बहिनी’ भनेर सम्बोधन : विश्वासको सम्बन्ध

गणेशले टिकालाई सधैं ‘बहिनी’ भनेर सम्बोधन गर्न थाले। त्यो सम्बोधन केवल पारिवारिक शैलीमा सीमित रहेन, त्यो विश्वासको प्रतिक थियो । एक दाजुजस्तो मार्गदर्शक र एक पत्रकारजस्तो सहयात्रीबीचको सम्बन्ध।

“अब त अर्को दाइ भेटिए,” टिका भन्छिन्, “जसले मलाई बहिनी जस्तो माया दिएर, पत्रकारिता सिकाउने गुरु पनि बन्नुभयो।”

खप्तडटिभीमा भूमिका : पेशागत अभ्यासको आरम्भ

गणेशले टिकालाई खप्तडटिभीको डेक्स सम्पादकको जिम्मेवारी दिए। त्यो जिम्मेवारी केवल पद होइन, त्यो टिकाकाे लागि अवसर थियो । पत्रकारिताको प्रयोगात्मक अभ्यास, सम्पादन सीप, समाचार मूल्यांकन, र नेतृत्व क्षमता विकास गर्ने।

टिकाको कलम अब व्यवहारिक रुपमा झुल्किन थाल्यो। उनले गाउँका समाचार, समाजका पीडा, महिला मुद्दा, र दलित समुदायका विषयलाई प्राथमिकता दिँदै लेख्न थालिन्। उनका केही विशेष समाचारहरुले चर्चा बटुल्न थाले, प्रतिक्रिया आउन थाले, र आत्मविश्वास पलाउन थाल्यो।

मार्गदर्शनको यात्रामा विश्वास

गणेश विकको मार्गदर्शनमा टिका रसाइलीले पत्रकारिताको केवल लेखन पक्ष मात्र होइन। नैतिकता, स्रोतको रक्षा, भाषा अनुशासन, र संवेदनशीलताका पक्ष पनि सिकिन्। विकले हरेक समाचार लेखेपछि उनलाई बोलाएर बिस्तारै सुधार गराइदिने, किन र कसरी भन्ने तर्कसहित सम्पादन गर्न सिकाउने गर्थे।

“मलाई कहिल्यै डर लाग्दैनथ्यो गल्ती गर्न,” टिका भन्छिन्, “किनकि मलाई थाहा थियो। म सधैं सिक्नेछु, किनकि मेरो दाजु साथमा हुनुहुन्छ।”

साझा सपना : ग्रामीण आवाजलाई राष्ट्रिय मञ्चमा ल्याउने

टिका रसाइली र गणेश विक दुवैको मूल पहिचान ग्रामीण समाजसँग जोडिएको छ।

टिका बागलुङबाट, विक बझाङबाट। दुबैको कलमले पहाडका पीडा बोलेको छ ।

दुबैको आँखा समाजको तल्लो तहमा केन्द्रित छ।

त्यसैले खप्तडटिभीको साझा सपना बन्यो। गाउँको सत्य, शहरसम्म पुर्‍याउने।
यस अभियानमा टिका रसाइलीको सहभागिता गणेश विकको लागि प्रेरणाको विषय बन्न पुग्यो।

पत्रकार विक भन्छन्, “टिकाले लेखेको समाचार पढ्दा मलाई लाग्छ, कलमसँग भावना मिसिएको छ। त्यो भावना नै परिवर्तनको आधार हो।”

पत्रकारिताको सम्बन्धले जन्माएको आत्मीयता

गणेश विक र टिका रसाइलीको सम्बन्ध केवल पत्रकारिता संस्थासँगको सम्बन्ध होइन। त्यो गुरु–शिष्य, दाजु–बहिनी, अनि कलम र कर्तव्यबीचको सम्बन्ध हो।

आज टिका रसाइली पत्रकारिता क्षेत्रमा उभिन सक्ने आधारहरू खोजिरहेकी छिन्, अनि गणेश विक त्यही यात्रामा एक अदृश्य सहारा भएर उभिएका छन्।

यी दुई पात्रको भेटले एक सन्देश दिन्छ ।यदि निष्ठा र माया मिसियो भने, पत्रकारिता केवल पेसा रहँदैन, त्यो जीवनको अभियान बन्छ।

जीवनकाे दुःख र कलमको लडाइँ

गणेश विक आफैं पनि गाउँबाट आएका, दलित समुदायबाट हुर्किएका पत्रकार हुन् । समाचार लेखेका कारण पत्रकार विक पटकपटक हिरासत हुर्दै अदालतमा मुद्दा खेपिरहेका र कानुनी लडाइँ खेलेका व्यक्ति हुन्।

टिका रसाइली पनि त्यही वर्गको प्रतिनिधित्व गर्छिन्। जहाँ आवाज सधैं दबाइन्छ, सपना च्यापिन्छ, र आँसु गुम्सिन्छ।

यी दुईको सहकार्य पत्रकारिताको कुनै जागिर होइन, त्यो एक साझा मिसन हो।

न्यायकाे, सामाजिक परिवर्तनकाे, र सशक्तीकरणकाे।

टिका भन्छिन् : “बुबाको हात छुटेको दिन, म भित्रै भत्किए। तर जब दाजु गणेशले मभित्रको क्षमता देखेर ममाथि विश्वास गरे। म फेरि उठेँ। मेरो कलम फेरि उठ्यो। आज म जुन आवाज बनेकी छु, त्यसको टेको मेरो बुबाको सपना हो, र मेरो दाजुको विश्वास।”

आज जब खप्तडटिभीमा कुनै सशक्त समाचार आउँछ, पाठकहरू थाहा पाउँछन्। त्यो केवल समाचार होइन, त्यो टिकाको आत्मा हो। र त्यो आत्मालाई डोर्याउने गणेशको भरोसा हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत