काठमाडौं । नेपालमा हनी ट्रयाप अहिले एक बढ्दो सामाजिक र साइबर अपराधको रूपमा देखा परेको छ।
होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-५ बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका-१७ घर भई हाल काठमाडौं-५ बस्दै आएकी ३४ वर्षीया आचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेका छन्।
दुबैलाई काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट जेठ ७ गते पक्राउ गरिएको आचार्यले बताए।
उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउँथे। सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउँथे।
अनि विस्तारै सम्बन्ध प्रगाढ बनाउँदै जान्थे। सम्बन्ध बलियो बनाएपछि होटल वा रिसोर्टमा भेट्न बोलाउँथे। त्यस्ता भेटघाटहरू विशेष रूपमा नियोजित हुने गरेका थिए।
आचार्यका अनुसार उनीहरूले होटलमा खाजा, खाना र मदिरासहितको सेवा दिँदै गोप्य रूपमा पीडितको फोटो र भिडियो खिच्थे।
अधिकांश अवस्थामा ती दृश्यहरू आपत्तिजनक हुने गरी खिचिएका हुन्थे। ‘यिनै सामग्रीहरूलाई आधार बनाएर उनीहरूले पीडितमाथि मानसिक दबाब दिन्थे,’ आचार्यले भने, ‘तपाईंको घरपरिवार, कार्यक्षेत्र र सामाजिक सञ्जालमा यिनै तस्बिर सार्वजनिक गरिदिन्छौं भन्दै धम्क्याइन्थ्यो।’
त्यस्ता धम्कीबाट डराएका धेरै व्यक्तिहरू आफैं सम्पर्कमा आएर रकम बुझाउने अवस्थामा पुग्थे।
काठमाडौंमा भएको पछिल्लो घटनामा ती युवतीले एक व्यक्तिलाई ब्ल्याकमेल गरेर काठमाडौंमा चार आना जग्गा माग गरेका थिए। पाँच लाख रुपैयाँ बराबरको चेक लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई वटा मोबाइल फोन बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाणहरू संकलन भइरहेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न दुवै युवतीले पछिल्लो समय सामाजिक सञ्जालमा सक्रियता बढाएका थिए। उनीहरूले फेसबुकमार्फत् रोजगारी वा सम्बन्धको झुठो प्रस्ताव गरेर लक्षित व्यक्तिहरूसँग सम्पर्क बनाउँथे। अनि व्यक्तिगत भेटघाटमा पुगेर उनीहरूलाई फसाउने योजनामा संलग्न हुन्थे।
प्रहरीले यो घटनालाई ‘हनी ट्रयाप’ अर्थात् भावनात्मक सम्बन्धको जालमा पारेर गरिने ठगीको आधुनिक स्वरूपको रूपमा व्याख्या गरेको छ। काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र डिजिटल मिडिया प्रयोग गरेर ठगी गर्ने घटनाहरू बढ्दो क्रममा छन्।
आचार्यका अनुसार हालसम्म यो गिरोहले कति जनालाई निशाना बनाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनले भने, ‘गोप्य फोटो र भिडियो खिचेर ब्ल्याकमेल गर्ने प्रवृत्ति खतरनाक रूपमा विस्तार भएको छ। यस्तो प्रवृत्तिबाट जोगिन सबै नागरिक सचेत हुनु आवश्यक छ।’
पक्राउ परेका युवतीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
के हो हनी हनी ट्रयाप ?
हनी ट्रयाप (Honey Trap) भन्नाले कसैलाई प्रेम, यौन आकर्षण वा भावनात्मक सम्बन्धको झुटो जालमा पारेर, त्यस सम्बन्धमार्फत गोप्य सूचना, निजी क्षण, तस्बिर/भिडियो, वा अन्य संवेदनशील विवरणहरू प्राप्त गर्ने र पछि त्यसलाई प्रयोग गरेर धम्क्याउने, ठगी गर्ने, वा राजनीतिक/व्यक्तिगत फाइदा उठाउने कार्यलाई हनी ट्रयाप भनिन्छ ।
यो एक प्रकारको मानसिक तथा डिजिटल शोषण हो, जसको प्रयोग प्रायः:
पैसाका लागि। राजनीतिक/व्यक्तिगत बदला लिन। गोप्य सूचनाहरू निकाल्न। वा प्रतिष्ठा ध्वस्त पार्न गरिन्छ।
हनी ट्रयाप कसरी काम गर्छ?
लक्षित व्यक्ति छान्ने
सामाजिक सञ्जाल (Facebook, Instagram, TikTok, LinkedIn) प्रयोग गरेर व्यक्ति पहिचान गरिन्छ।
व्यक्तिको रुचि, पेशा, आर्थिक अवस्था, पारिवारिक पृष्ठभूमि आदिको अध्ययन गरिन्छ।
सम्बन्धको सुरुवात
फेक प्रोफाइल (नक्कली परिचय) बाट म्यासेज पठाउने। कुराकानी सुरु गरी आत्मीयता बनाउने।
भावनात्मक सम्बन्ध विस्तार
मायालु व्यवहार, सहानुभूति, वा एक्लोपनाको फाइदा उठाइने।
आत्मविश्वास जित्ने प्रयास गरिन्छ।
निजी भेटघाट
होटल, रिसोर्ट वा एकान्त स्थानमा भेट्ने प्रस्ताव गरिन्छ।
त्यो भेट प्रायः योजनाबद्ध हुन्छ ,जहाँ क्यामेरा, रिकर्डिङ उपकरण वा साक्षी हुने सम्भावना हुन्छ।
ब्ल्याकमेल/धम्की
खिचिएको गोप्य भिडियो वा तस्बिर देखाएर पीडितलाई पैसा, सम्पत्ति, वा अन्य फाइदा माग्ने।
‘यो सार्वजनिक गर्छु’ भनेर मानसिक यातना र दबाब सिर्जना गरिन्छ।
हनी ट्रयापकाे इतिहास र उत्पत्ति
हनी ट्र्यापको प्रयोग जासुसी र गुप्तचर संस्थाहरूले वर्षौं अघिदेखि गर्दै आएका छन्।
शीतयुद्धको समयमा सोभियत KGB वा अमेरिकी CIA ले दुश्मन देशका अधिकारीहरूको कमजोरी पत्ता लगाउन हनी ट्रयाप प्रयोग गरेका थिए।
अहिले यो सामान्य नागरिक, राजनीतिककर्मी, उद्योगपति, र न्यायाधीश, पत्रकार, सुरक्षाकर्मी, सिक्षक, डाक्टरसम्म लक्षित हुन थालेका छन्।
हनी ट्रयाप र डिजिटल युग
फेसबुक, WhatsApp, Telegram, TikTok जस्ता माध्यमबाट सजिलै विश्वास जित्न सकिने।
स्मार्टफोन र लुकेको क्यामेराबाट सजिलै गोप्य तस्बिर/भिडियो खिच्न सकिने।
Deepfake प्रविधिबाट नक्कली नग्नता सिर्जना गर्नेसम्म प्रविधिको प्रयोग बढ्दैछ।
नेपालमा यसको उदाहरणहरू:
सरकारी अधिकारीहरू, नेता, व्यापारी, प्रहरी अधिकारी पत्रकार, डाक्टर, शिक्षकहरूलाई लक्षित गरी हनी ट्रयापमा पारिएको समाचारहरु नियमित रूपमा आउने गरेका छन्।
कतिपय अवस्थामा स्वयं पीडितले उजुरी गर्न नसक्दा घटनाहरू थोरै मात्र बाहिर आएका छन्।
हनी ट्रयापका कानुनी पक्ष
नेपालमा लागू हुने कानून: विद्युतीय कारोबार ऐन २०६३ (Electronic Transactions Act)
→ डिजिटल धम्की, गोप्य सामग्री सार्वजनिक गर्ने धम्की आदि।
फौजदारी संहिता २०७४→ निजताको हनन, ठगी, बलात्कार, मानसिक हिंसा जस्ता मुद्दाहरूमा प्रयोग गर्न सकिने।
साइबर अपराध अनुसन्धान शाखा→ यस्ता घटनाहरूमा अनुसन्धान गर्दै आएको छ।
सजाय: अपराधको प्रकृति अनुसार ५ वर्षदेखि १५ वर्षसम्म कैद, १ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्छ।
हनी ट्रयापविरुद्ध कसरी सजग रहने ?
सामाजिक सञ्जाल प्रयोग गर्दा:
अपरिचित व्यक्तिको friend request स्वीकार नगर्ने। गोप्य तस्बिर, भिडियो वा व्यक्तिगत विवरण खुला रूपमा शेयर नगर्ने। संवेगात्मक कुरा तुरुन्तै नबिश्वास गर्ने।
शंका लागेमा: नजिकको प्रहरी कार्यालय वा साइबर अपराध शाखामा उजुरी दिने। प्रमाणहरू (स्क्रिनसट, म्यासेज, भिडियो) सुरक्षित राख्ने।
मानसिक पक्ष: के भइहाल्छ र’ भन्ने सोचबाट हट्ने। डराएपछि झनै शिकार बन्ने सम्भावना बढी हुने।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ