काठमाडौं । बझाङका पाँच स्थानीय तहले सुचना प्रकाशन तथा मिडिया प्रचारप्रसारका नाममा २० लाख बढी रुपैयाँ खर्च गर्दा आर्थिक पारदर्शिता, प्रमाण र कानुनी प्रक्रिया नअपनाएको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार, पाँच पालिकाले विभिन्न मिडिया तथा संचारसंस्थालाई अनियमित तरिकाले भुक्तानी दिएको उल्लेख छ ।
जयपृथ्वी नगरपालिकाले २०८१ असार २३ गते नगरका गतिविधिको प्रचारप्रसार तथा डकुमेन्ट्री निर्माणका लागि ‘दीक्षा मिडिया हाउस’लाई तीन लाख रुपैयाँ भुक्तानी दिएको थियो । डकुमेन्ट्री निर्माण गरी नबुझाएको भन्दै अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, थलारा गाउँपालिकाले सामाजिक परीक्षण शीर्षकमा ‘मिडिया विकास समूह’लाई तीन लाख १० हजार रुपैयाँ भुक्तानी दिएको छ । तर परीक्षणको प्रतिवेदन यथार्थपरक र खर्च पुष्टि गर्ने कागजात नै नभएकाले अनियमितता भएको देखाइएको छ ।
सुर्मा गाउँपालिकाले सूचना प्रकाशन शीर्षकमा तीन लाख ७५ हजार ७१० रुपैयाँ खर्च गरेको देखिएको छ ।
मूल्यांकनका क्रममा एउटै सूचना फरक मितिमा दोहोर्याएर प्रकाशित गरिएको, साइज र अक्षर ठूलो बनाइ सिसिको दर बढाइएको, एकै दिन एकै पत्रिकामा छाप्न सकिने सूचना विभिन्न मितिमा प्रभाव दैनिक र सौर्य आर्थिक दैनिकमा छापिएको देखिएको छ ।
महालेखाको प्रतिवेदनमा ३ लाख ७५ हजारभन्दा बढी अनियमितता भएको उल्लेख छ ।
उक्त रकम एक्सेस एडभरटाईजिङ प्रा.ली.ले ९४ हजार १ सय २९ रुपैयाँ, स्मार्ट क्रियटिभ मिडिया प्रा.ली., १ लाख २१ हजार २३ रुपैयाँ, ८० सिसिको ८० हजार ८ सय ८२ रुपैयाँ खप्तड मिडिया हाउसले, डिभाईन एण्ड एजेन्सी प्रा.ली.ले ७९ हजार ८ सय ७६ रुपैयाँ भुक्तानी लिएको छ ।
यसैगरी, बुंगल नगरपालिकाले सूचना प्रकाशन शीर्षकमा २ लाख ४० हजार ८ सय रुपैयाँ अनियमित गरेको उल्लेख छ । त्रिलक्ष्मी एडभरटाइजिङ नामक संस्थाले फरक फरक आर्थीक दैनिक र मध्यान्न दैनिक पत्रिकामा फरक मितिमा प्रकाशित दुई सूचनाका लागि अलग–अलग भुक्तानी लिएको देखिएको छ ।
जसमा २०८१ बैशाख १० गते त्रिलक्ष्मी एडभरटाईजिङले ६९ हजार ९ सय २४ रुपैयाँ र २०८१ बैशाख ३० गते त्रिलक्ष्मी एडभरटाईजिङले १ लाख ७० हजार ८ सय ७६ रुपैयाँ भुक्तानी लिएको छ ।
सबैभन्दा ठूलो खर्च खप्तडछान्ना गाउँपालिकामा देखिएको छ, जसले सूचना प्रकाशन शीर्षकमा १४ लाख ६७ हजार १ सय २४ रुपैयाँ खर्च गरेको छ ।
मूल्यांकन अनुसार ७ लाख ४८ हजार ७ सय ६६ रुपैयाँ बराबरको सूचना अनावश्यक रूपमा दोहोर्याइएको, ठूलो साइजमा प्रकाशित गरिएको वा फरक मितिमा सौर्य दैनिक र मध्यान्न दैनिक पत्रिकामा छापिएको पाइएको छ ।
जसमा सौर्य दैनिकको २०८० माघ ६ र ७ गते ११५ र ७० सिसिको प्रकाशित सुचनाको खप्तड मिडियाले २ लाख ३४ हजार १ सय ३६ रुपैयाँ भुक्तानी लिएको छ ।
यस्तै २०८० भदौ ११ र १९ गते १५५ र १५६ सिसिको सौर्य दैनिकमा प्रकाशित सुचनामा खप्तड मिडियाले ३ लाख ९३ हजार ६ सय ७ रुपैयाँ भुक्तानी लिएको छ ।
यस्तै मध्यान्न दैनिकमा २०८० भदौ १३ गते ९० सिसिको प्रकाशित सुचनामा परफेक्ट एडले १ लाख २१ हजार २३ रुपैयाँ भुक्तानी लिएको छ । उक्त रकम महालेखाले अनियमित ठहर गरेको छ ।
त्यस्तै, ‘नाफामूलक संस्थालाई अनुदान दिन नहुने’ कानुनी व्यवस्था हुँदाहुँदै पनि सिर्जनशील युवा समाज र तेस्रो आँखा साप्ताहिकलाई पालिकाले दुई–दुई लाख रुपैयाँ अनुदान दिएको उल्लेख छ ।
महालेखाको प्रतिवेदन अनुसार पाँचै पालिकामा प्रमाण, प्रक्रिया र पारदर्शिताको ख्याल नगरी मिडिया शीर्षकमा सार्वजनिक २० लाख ६५ हजार २ सय ७६ रुपैयाँ रकम दुरुपयोग गरिएको छ ।
कतिपय मिडियाले सूचना नै प्रकाशित नगरी भुक्तानी लिएका छन् भने, कतिले एकै सूचना दोहोर्याएर फरक मितिमा छापी खर्च बढाएका छन् ।
राष्ट्रिय मिडियामा छापिएको ठोस प्रमाण नदिई भुक्तानी लिने प्रचलन व्यापक रहेको र यसले सार्वजनिक स्रोतको दुरुपयोग झनै गम्भीर बनाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ