काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाण्डौंले २०८२ सालको जेष्ठ महिनाका लागि ‘फैसला कार्यान्वयन’ अन्तर्गत सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी एकाइको रूपमा प्रहरी वृत्त स्वयम्भूलाई चयन गरेको छ।
सोही अवसरमा वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्दव सिंह भाटलाई विशेष प्रशंसा पत्र प्रदान गरी सम्मानित गरिएको छ।
फैसला कार्यान्वयन कार्यक्रम अन्तर्गत अदालतले दिएका फैसला, आदेश तथा परमादेशलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै न्याय सम्पादन प्रक्रियामा सहयोग पुर्याउन गरेको सक्रियता, संवेदनशीलता र परिणाममुखी कार्यसम्पादनका आधारमा डीएसपी भाट नेतृत्वको प्रहरी वृत्त स्वयम्भूले यो सफलता हासिल गरेको हो।
डीएसपी भाटको नेतृत्वमा उक्त वृत्तले विगत महिना न्यायालयबाट तोकिएको कैयौं फैसलाहरूको प्रभावकारी कार्यान्वयन गर्दै न्यायमा पहुँच सुनिश्चित गराएको छ। विशेष गरी फरार अभियुक्तको खोजी, पक्राउ तथा फैसलाको कार्यान्वयनमा देखिएको निष्ठा, समयमै निर्णय कार्यान्वयन, र कानुनी प्रक्रियाप्रति देखाएको जिम्मेवारीपूर्ण व्यवहारलाई उच्च कदर गर्दै नेपाल जिल्ला प्रहरी परिसर काठमाण्डौं कार्यालयले उनलाई यो सम्मान प्रदान गरेको हो।
प्रशंसा पत्र वितरण कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख एसएसपी विश्व अधिकारीले डीएसपी भाटको कार्यशैलीको प्रशंसा गर्दै उनलाई भविष्यमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए।
सम्मान ग्रहण गर्दै डीएसपी भाटले भने, “यो सम्मान मेरो मात्र नभई सम्पूर्ण प्रहरी वृत्त स्वयम्भूको सामूहिक प्रयास र समर्पणको प्रतिफल हो। हामी सधैं नागरिकको हित र न्यायको पक्षमा खटिरहने प्रतिबद्धता दोहोर्याउँछौं।”
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ