नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई भ्रष्टाचारको अभियोगमा सैनिक सेवाबाट बर्खास्त गरिएको छ।
सैनिक कल्याणकारी कोषमा रकम अपचलन गरेको ठहर गर्दै सैनिक विशेष अदालतले बिहीबार उनीहरूलाई बर्खास्त गर्ने फैसला सुनाएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, खड्का र कार्कीले सैनिक अनुशासन र आचरणविपरीत कार्य गरेका कारण सेनाबाट हटाइएको हो।
सैनिक ऐन २०६३ को दफा १०१ अनुसार, उनीहरूलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी मात्र पदबाट हटाइएको छ।
सेनाले उनीहरूविरुद्ध दुई करोड २१ लाख ८५ हजार ५१५ रूपैयाँ अपचलन गरेको आरोपमा कोर्ट अफ इन्क्वायरी गठन गरी अनुसन्धान थालेको थियो।
अनुसन्धानपछि दोषी ठहर गर्दै सैनिक विशेष अदालतले उनीहरूलाई बर्खास्त गरेको हो।
अनुसन्धान अनुसार, खड्का र कार्कीले २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ सम्म १४४ वटा चेकमार्फत एक करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ भुक्तानी गरेका थिए।
त्यसअघि २०७३ फागुन ९ देखि २०७५ असोज १७ सम्म ४० वटा चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ अपचलन भएको पनि फेला परेको छ।
यस प्रकरणमा तत्कालीन सेनानी लक्ष्मण अधिकारी र पूर्व जमदार आत्मराम थापा पनि संलग्न भएको पाइएको छ।
दुवैले अवकाश पाइसकेकाले सैनिक ऐन लागू नहुने भन्दै सेनाले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरी अनुसन्धान अगाडि बढाउन अनुरोध गरेको थियो।
थापा पक्राउ परिसकेका छन् भने अधिकारी फरार रहेका छन्।
थापालाई काठमाडौं जिल्ला अदालतले वैशाख २८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
सरकारी वकिलसमक्ष थापाले दिएको बयान अनुसार, अधिकारीले नामसूची तयार पार्ने, चेक तयार गर्ने र पेट्रोल कुपन, खाजा खर्च, र बिदा सहुलियतका नाममा रकम हिनामिना गर्न सहयोग गरेका थिए।
थापा २०७३ देखि २०७५ सम्म सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ