सिरहा । सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वास्थित जनता नमूना माध्यमिक विद्यालयमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि आक्रोशित अभिभावक र स्थानीयले विद्यालयमा तोडफोड गरेका छन्।
विद्यालयका शिक्षक हरि श्रेष्ठमाथि १३ वर्षीया र ८ वर्षीया छात्रालाई लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएको आरोप लागेको छ।
आइतबार बिहान पीडित छात्राकी आमाले विद्यालय पुगेर शिक्षक श्रेष्ठको गतिविधिप्रति आक्रोश व्यक्त गरेकी थिइन्।
श्रेष्ठले कक्षामै संवेदनशील अंग छुने गरेको बताएको र त्यसपछि विद्यालय जानै डराएको आमाले बताइन्।
उनका अनुसार शुक्रबार शिक्षिका रञ्जु सिंहसमक्ष नै गुनासो राख्दा पनि प्रधानाध्यापक ब्रह्मदेव प्रसाद सिंह र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार महतोले घटनालाई गम्भीरतापूर्वक नलिई उल्टै आरोपीको घटना ढाकछोप गर्न खोजेको थियो।
शिक्षक श्रेष्ठविरुद्ध विद्यालयमै आरोप लागेपछि अभिभावक र स्थानीय युवा ठूलो संख्यामा विद्यालय पुगेका थिए।
आक्रोशित भिडले कक्षाकोठाका झ्यालका सिसा तोडफोड गर्दै शिक्षकमाथि कारबाहीको माग गरेका थिए।
घटना बढ्दै गएपछि विद्यालय परिसर तनावग्रस्त बनेको थियो र अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो।
तोडफोड र नाराबाजीकै बीच गोलबजार प्रहरीले शिक्षक हरि श्रेष्ठलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर गोविन्दप्रसाद साहले जानकारी दिए।
दुवै पीडित छात्रालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ।
विद्यालयमा भएको घटनापछि विद्यार्थीहरूमा पनि आक्रोश बढ्दै गएको छ र उनीहरूले विरोध कार्यक्रम गर्ने तयारी गरेको बताइएको छ।
अभिभावकहरूले शिक्षक श्रेष्ठलाई तत्काल कडा कानूनी कारबाही गर्न र विद्यालयका प्रधानाध्यापक ब्रह्मदेव प्रसाद सिंहलाई घटनाको जिम्मेवारी लिएर बर्खास्त गर्न माग गरेका छन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ