रसुवा —
चीनतर्फबाट आएको बाढीका कारण रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुल बगाएसँगै नेपाल र चीनबीचको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
बाढीले रसुवाको ड्राइपोर्ट क्षेत्रमा पनि व्यापक क्षति पुर्याएको छ।
जाँचपासका लागि राखिएका थुप्रै गाडीहरू बाढीले बगाएको प्रहरीको भनाइ छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान करिब ३ बजे भोटेकोशी नदीमा एक्कासि बाढी आएको थियो।
हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि नभए पनि, भन्सार क्षेत्रका गाडी बगाउँदा त्यहाँ रहेका केही चालक र सहचालकहरू समेत बगेको हुनसक्ने अनुमान गरिएको छ।
“तर अहिलेसम्म यकिन पुष्टि भएको छैन,” अधिकारीले भने।
उनका अनुसार प्रारम्भिक जानकारी अनुसार बाढीले करिब ६ देखि ७ वटा विद्युतीय (ईभी) गाडी बगाएको अनुमान छ।
“केही मानिसहरू पनि त्यहाँ फसेको जानकारी आएको छ। उद्धार टोली परिचालित गरिएको छ,” उनले थपे।
बाढीका कारण रसुवागढी जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालयले आकस्मिक बाढीको जोखिमका कारण तल्लो क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
मैलुङ र बेत्रावती क्षेत्रका स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार, मैलुङ प्रहरी चौकीका प्रहरीहरू जोखिमका कारण सुरक्षित स्थानमा सारिएको छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ