हेंवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ भने पहिरोले बन्द भएको सिद्धिचरण राजमार्ग पुनः सञ्चालनमा आएको छ।
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थलमा रहेको हेंवा खोलामा मंगलबार साँझदेखि आएको बाढीले मेची राजमार्ग अवरुद्ध बनाएको हो।
प्रहरीका अनुसार खोलाको बाढी ‘डाइभर्सन’ माथिबाट बग्न थालेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।
पाँचथर प्रहरीले दिएको जानकारीअनुसार, खोलामा पानीको बहाव अझै नघटेकाले दुवैतर्फका सवारी साधन चल्न नसकेको हो। खोला तर्न सक्ने अवस्था नभएकाले सवारीहरू रोकिएका छन्।
यसैबीच, अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धिचरण राजमार्ग भने सञ्चालनमा आएको छ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ मा माथिबाट खसेको पहिरोले मंगलबार साँझ सडक अवरुद्ध बनाएको थियो।
निमित्त प्रहरी प्रमुख, इन्स्पेक्टर विजय कार्कीका अनुसार ओखलढुंगाबाट सोलुखुम्बु जाने मार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो।
तर सडक डिभिजन कार्यालय र सिद्धिचरण नगरपालिकाको समन्वयमा पहिरो हटाएर सडक सुचारु गरिएको कार्कीले जानकारी दिएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ