संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाउने भन्दै स्पेन लैजाने गिरोहको विषयमा छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान समिति गठन गरेको छ।
एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा गठित समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरू समेत सहभागी छन्। एसएसपी बोगटीले समिति छिट्टै अनुसन्धान सम्पन्न गरी प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन बुझाउने बताए।
गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो बोलाएको बैठकमा स्पेनमा भएको भनिएको मानव तस्करीसम्बन्धी मुद्दा प्रमुख रूपमा उठेपछि छानबिन समिति गठन गरिएको हो।
१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २१ सदस्यीय सरकारी टोली स्पेनको सेभियामा आयोजित चौथो ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स्’ कार्यक्रममा सहभागी हुन गएका थिए। सो टोली २० असारमा फर्किएको थियो।
तर, सोही समयमा अस्वाभाविक रूपमा दुई साताभित्र ८२ जना नेपाली स्पेन पुगेका थिए भने थप ५५ जनालाई विमानस्थलमै रोकेर फर्काइएको थियो। यसै आधारमा सरकारी संयन्त्रको दुरुपयोग गर्दै संगठित गिरोहले मानव तस्करी गरेको आशंका गरिएको हो।
स्पेन हुँदै युरोपका अन्य देशहरू—जस्तै पोर्चुगल—लगिएको र गिरोहले त्यसको बदलामा ठूलो रकम असुलेको भन्ने विवरण पनि बाहिर आएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ