काठमाडौं: जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङ काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली पुगे। तर प्रहरी प्रशासनले उक्त मुद्दा हाल जाँचबुझ आयोग अन्तर्गत रहेकाले जाहेरी दर्ता गर्न इन्कार गर्यो। त्यसपछि गुरुङ ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै फर्किएको बताइएको थियो।बेलुकी साढे सातपछि ‘भिक्टर कन्ट्रोल’बाट आदेश जारी गर्दै राजधानीका ६० युनिटमा उच्च सुरक्षा सतर्कता लागू गरिएको छ।
यद्यपि गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो समाचारलाई ‘नक्कली’ भन्दै खण्डन गरेका छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, “नक्कली समाचार चेतावनी: यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचार मात्र विश्वास गर्नुहोस्।”
तर, यतिबेला सुधार, आन्दोलन र दबाबका नाममा गुरुङ स्वयं विवादमा तानिएका छन्। ओली–लेखकलाई गिरफ्तार गर्नुपर्ने भन्दै लगातार सामाजिक सञ्जालमा अभियान चलाइरहेका गुरुङको शैली र भाषा राजनीतिभन्दा बढी ‘उत्तेजनात्मक प्रचार’मा केन्द्रित देखिन्छ। जिम्मेवार नागरिक समाजको नेतृत्व गर्ने दाबी गर्ने व्यक्तिबाट यस्तो उत्तेजनापूर्ण कार्यले आन्दोलनको विश्वसनीयता घटाउँछ।
जेनजी आन्दोलनले उठाएका मुद्दा राजनीतिक जवाफदेहिता, युवा हक र राज्यद्वारा गरिएका दमनका विरुद्धको आवाज गम्भीर छन्। तर गुरुङजस्ता व्यक्तिहरूले भावनात्मक आवेशमा आन्दोलनलाई आफ्नो व्यक्तिगत प्रचारको साधन बनाउँदा आन्दोलनको नैतिकता र जनविश्वासमा चोट पुर्याउँछ।
राजनीतिक नेतृत्वप्रति प्रश्न उठाउनु लोकतान्त्रिक अधिकार हो, तर हल्ला, धम्की र प्रचारको माध्यमबाट होइन-तथ्य, प्रमाण र संयमित आवाजबाट। सुधन गुरुङले यदि साँच्चै न्यायका लागि लड्ने हो भने, जिम्मेवार नागरिकको जस्तो व्यवहार देखाउनुपर्छ, न कि फेसबुक र सडकलाई समानान्तर अदालत बनाउने।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ