झापाको कमलमा एसएलआरको ५५ राउन्ड गोली फेला परेको छ । शुक्रवार साँझ ७ बजे कमल गाउँपालिका वडा नं.–७ रङ्गपुर बस्ने ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पार्नुभएको हो । उहाँले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनापछि शनिवार बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७.६२ एमएम ५५ राउन्ड बुझेको जिल्लाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको उहाँले जनाउँनुभयो । जेन–जी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार, ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायब भएको प्रहरीको तथ्याङ्क छ ।
आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरे पनि त्यति हतियार फिर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार (एसएलआरलगायत)–१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी, सानो हतियार (पेस्तोल–रिभल्वर)–२ थान र त्यसमा लोड गरिएको ४० राउन्ड गोली, सर्टगन÷ग्यासगन–४ थान र त्यसको १८० सेल ग्यास फिर्ता नगरेको प्रहरीको भनाइ छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल (एसएलआर) –१ थान र त्यसको १५०० भन्दा बढी गोली, सानो हतियार ( पेस्तोल–रिभल्वर) –३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउन्ड गोली फिर्ता नगरी गायव बनाइएको प्रहरी स्रोतले जनाएको छ । मानवअधिकारवादीहरूको रोहवरमा आन्दोलनकारीहरूले फिर्ता गरेको ८५ थान हतियार चारआलीस्थित अरिदमन गणले प्रहरीलाई जिम्मा लगाएको थियो । नेपाल समाचारपत्रमा समाचार छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ