नेपाल प्रहरीलेका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) ले साइबर अपराधको उजुरी दिएको छ । माओवादी केन्द्रले सुवेदीले दिएको “झुठा अभिव्यक्ति” लाई लिएर प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको हो।
पूर्व एआईजी सुवेदीले एक युट्युब अन्तर्वार्तामा “जेन–जी आन्दोलन सुरु हुनुभन्दा दुई दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको” दाबी गरेका थिए। उक्त अभिव्यक्तिलाई खण्डन गर्दै माओवादी केन्द्रले त्यसलाई “पूर्णरूपमा मनगढन्ते र चरित्रहत्या गर्ने” अभिव्यक्ति ठहर गरेको छ।
माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार आइतबार साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरिएको छ।
“डिजिटल माध्यमबाट झुठा सूचना प्रवाह गरी भ्रम सिर्जना गर्नु र पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गर्नु गम्भीर साइबर अपराध हो,” आचार्यले भने, “त्यसैले देवेन्द्र सुवेदीविरुद्ध कानूनी कारबाहीको माग गरिएको छ।”
पूर्व एआईजी देवेन्द्र सुवेदीका पिता खडानन्द सुवेदी नेपालको राजनीतिमा उतारचढाव भोगेका व्यक्तित्व थिए। १५ सालमा उनी नेपाली कांग्रेसबाट रोल्पाबाट सांसद निर्वाचित भएका थिए। तर पछि, तत्कालीन प्रधानमन्त्री बिपी कोइराला जेल परेपछि खडानन्द सुवेदीले कांग्रेस छोडेर पञ्चायत प्रवेश गरेका थिए र जिल्ला विकास समिति (जिविस) सभापति बनेका थिए।
२०३६ सालतिर गणेशमान सिंह रोल्पा पुगेका बेला खडानन्दले फेरि बहुदलको पक्षमा समर्थन जनाएका थिए। तर त्यो समर्थन लामो समय टिकेन – बहुदल पक्षमा खुलेको एक महिनाभित्रै उनले पशुपति शम्सेर राणा र बालाराम घर्तिको हातबाट टिका लगाएर पुनः पञ्चायत प्रणालीमा फर्किएका थिए।
पञ्चायत शासनकालमा दरबारसँग निकट सम्बन्ध राख्ने मन्त्री समेत भैसकेका बालाराम घर्तिको चाकडीका कारण खडानन्द सुवेदीले यही प्रभावको प्रयोग गर्दै उनले आफ्नो छोरा देवेन्द्र सुवेदीलाई प्रहरी सेवामा इन्स्पेक्टर पदमा भर्ना गराएका रोल्पा कै एक स्थानीयले बताए।
देवेन्द्र सुवेदी हाल पनि सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत् आफ्नो विचार सार्वजनिक गर्दै आएका छन्। तर माओवादी केन्द्रले उनको पछिल्लो अभिव्यक्ति “राजनीतिक रूपमा नियोजित” र “विश्वसनीय प्रमाणविना” भएको आरोप लगाएको छ। साइबर ब्युरोले उजुरी दर्ता भइसकेकाले अब सो विषयमा अनुसन्धान सुरु हुने अपेक्षा गरिएको छ।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ