काठमाडौं । आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवा सिफारिसबाट छुटाएको छ।
गृह मन्त्रालयले सिफारिस गरेको नामसूचीमा १ नम्बरमा रहँदै आएका अधिकारीलाई अन्तिम घडीमा निकालिएको भन्दै प्रहरी संगठनभित्र असन्तोष देखिएको छ।
अधिकारी संगठनभित्र अब्बल क्षमताका, इमानदार र नतिजामुखी अधिकृतका रूपमा चिनिन्छन्। काठमाडौं प्रहरी प्रमुखका रूपमा कार्यरत हुँदा जनजीवन सुधारदेखि आपराधिक नियन्त्रणमा उल्लेखनीय काम गरेका उनीमाथि जेनजी आन्दोलनको घटनालाई कारण देखाएर बढुवाबाट रोकिएको बताइन्छ।
तर, सो घटनासम्बन्धी छानबिन आयोगले अहिलेसम्म कुनै ठोस कमजोरी देखाएको छैन। आयोगको प्रतिवेदन बुझाउन पनि बाँकी रहँदा अधिकारीलाई बढुवाबाट रोक्नु हचुवाको भरमा गरिएको निर्णय भएको भन्दै संगठनभित्र प्रश्न उठ्न थालेका छन्।
स्रोतहरूका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले व्यक्तिगत असन्तुष्टिका कारण अधिकारीको बढुवा रोक्न सक्रिय भूमिका खेलेका छन्। त्यस्तै, हालका प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङले समेत उक्त विषयमा अडान नलिएका कारण अधिकारीको बढुवा अघि बढ्न नसकेको बताइन्छ।
प्रहरी वृत्तमा चर्चा छ- जेनजी आन्दोलनको घटनामा खापुङकै नाम पनि जोडिएको हुँदा आफ्ना सम्भावित कारबाही रोक्न एसएसपी अधिकारीको बढुवा रोकिने रणनीति अपनाइएको हुनसक्छ।
आइतबारको बढुवा समितिले भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डिआइजीमा बढुवा सिफारिस गरेको छ।

अब प्रश्न उठेको छ- संगठनका इमानदार र नतिजामुखी अधिकृत विश्व अधिकारीलाई किन बढुवाबाट छुटाइयो ? के काठमाडौँ प्रहरी प्रमुख हुनु नै उनको दोस बन्यो ?
गृहमन्त्री अर्यालले कहिल्यैको रिस फेरेका हुन् कि? बढुवाको प्रक्रियामा राजनीतिक प्रभाव र आर्थिक चलखेलको भूमिका कतिसम्म रह्यो ? यसले अहिले प्रहरी संगठनभित्र गम्भीर प्रश्न उठाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ