नेपाली सेनाको सबैभन्दा सुरक्षित मानिने मुख्यालय (जंगी अड्डा) भित्र एक व्यक्ति अनधिकृत रूपमा प्रवेश गरी तोडफोड गरेको घटना खुलासा भएको छ । गत असोज १८ गते राति ११ बजे, सिन्धुलीका २४ वर्षीय राहुल बोगटीले जंगी अड्डाको तारबार नाघेर अफिसर क्लबको सभामण्डप भवनमा प्रवेश गरेका थिए ।
प्रहरीका अनुसार, बोगटीले सभामण्डपभित्रको ड्राइ सौना कक्षका सामग्रीहरू तोडफोड गर्दा ३७ हजार २०० रुपैयाँ बराबरको क्षति भएको छ । घटनालगत्तै भागेर काठमाडौंको संकटा पुगेका बोगटीलाई सेना र प्रहरीको संयुक्त टोलीले राति २ बजे पक्राउ गरेको थियो ।
पक्राउ परेपछि बोगटीले आफू होसमा नरहेको र एक्कासी होस गुमाउँदा सेनाको कार्यालयभित्र पसेको बयान दिएका छन् । उनले आफू कसरी भित्र पसेँ र के-के गरेँ भन्ने कुरा पक्राउ परेको ४५ मिनेटपछि मात्र थाहा पाएको बताएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले बोगटीविरुद्ध ‘आपराधिक उपद्रव’ को कसुरमा मुद्दा दर्ता गरेको छ, जसमा क्षतिपूर्तिसहित तीन वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।
यसैबीच, सैनिक अधिकारीहरू र प्रहरीले यो घटनालाई गम्भीर सुरक्षा कमजोरीको रूपमा लिएका छन् । सेनाको मुख्यालयजस्तो चौबीसैघण्टा कडा सुरक्षा हुने ठाउँमा यसरी व्यक्ति छिर्नुले ठूलो प्रश्न खडा गरेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले संयोगवश सामान्य व्यक्ति परेकाले ठूलो क्षति नभएको, तर कुनै योजनाबद्ध व्यक्ति छिरेको भए ठूलो दुर्घटना हुन सक्ने बताए । सेनाको मुख्यालयमा अनधिकृत प्रवेश गर्नेमाथि गोली चलाउन सक्ने व्यवस्था हुँदाहुँदै पनि यस्तो घटना हुनुलाई गम्भीर समीक्षाको विषय मानिएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ