बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • बैतडीका नरेन्द्र र आयुसा : नेपाली सेना इतिहासमा पहिलो पटक बुबा छोरीको संयुक्त उपस्थित‍ि

बैतडीका नरेन्द्र र आयुसा : नेपाली सेना इतिहासमा पहिलो पटक बुबा छोरीको संयुक्त उपस्थित‍ि


गणेश विक


काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–५ कारिकोटका ४३ वर्षीय नरेन्द्रबहादुर बिष्ट र उनकी २० वर्षीया छोरी आयुसा बिष्ट नेपाली सेनाको इतिहासमा पहिलोपटक बुबाछोरी दुवै एकै समयमा, एकै दर्जामा तालिमरत भएको दुर्लभ उदाहरण बनेका छन्।

२४ वर्षे सेवा अवधि पूरा गर्दै सहायक सेनानीको पदमा पुगेका नरेन्द्र र पहिलो प्रयासमै सेकेन्ड लेफ्टिनेन्टमा चयन भएकी आयुसा दुवै हाल तालिममा व्यस्त छन्।

नरेन्द्र हाल सबुज गण बारामा कार्यरत छन भने,आयुसा सि.नं. ६५ खरिपाटी तालिममै व्यस्त छिन् ।

बुबाछोरी दुवैको एकै स्थानमा, एउटै चरणको तालिममा सहभागिता स्वयं नेपाली सेनाको इतिहासमै अनौठो र प्रेरणादायी देखिएको छ।

आयुसा सेनामा छिर्ने बाल्यकालदेखिको सपना पूरा गरिरहेकी छिन्।

बुबाको हौसला, अनुशासन र जिम्मेवारीबाट प्रभावित भएकी आयुसा भन्छिन्, “बुबा जस्तै राष्ट्रका लागि समर्पित भएर सेवा गर्न पाउँदा गर्व लाग्छ। तालिममा बुबासँग भेट हुन्छ, त्यो क्षण नै छुट्टै प्रेरणा हो।”

स्थानीयवासी तथा परिवारजनले पनि दुवै बिष्ट परिवारलाई उदाहरणीय भन्दै शुभकामना दिएका छन्।

समाजमा युवा–युवतीलाई अनुशासन र समर्पणबारे सन्देश दिन उनीहरूको उपस्थितिले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

नेपाली सेना स्रोतका अनुसार, एउटै परिवारका सदस्यहरू सेना प्रवेश गर्ने क्रम बढ्दो छ तर बुबाछोरी एकैपटक अधिकारी दर्जामा तालिममा सहभागी भएको घटना भने यसअघि दर्ता नभएको जानकारी छ।

नरेन्द्र थप्छन्, “आफू पनि फौजी, छोरी पनि फौजी। यसभन्दा ठूलो गर्व के हुन्छ र? अब छोरीले अझ राम्रो गरेर देशको सेवा गर्छे भन्ने पूर्ण विश्वास छ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत