नेपाल सरकारले आज (पुस १ गते) देखि राष्ट्रिय स्तरमा बाघ गणना कार्य सुरु गरेको छ। हरेक चार वर्षको अन्तरालमा गरिने यो गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट औपचारिक रूपमा प्रारम्भ भएको हो।
करिब तीन महिनासम्म चल्ने यस अभियानमा ‘क्यामेरा ट्र्यापिङ’ विधि अपनाइएको छ। गणनाका लागि चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका साथै लालझाडी क्षेत्रलाई समेटिएको छ।
विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार अध्ययनलाई सहज बनाउन निकुञ्जहरूलाई ब्लकमा विभाजन गरिएको छ:
• चितवन र पर्सा: ३ ब्लक
• बाँके र बर्दिया: ४ ब्लक
• शुक्लाफाँटा र लालझाडी: १ ब्लक
हरेक ब्लकमा बाघको ओहोरदोहोर हुने स्थान पहिचान गरी २०० देखि २५० वटासम्म स्वचालित क्यामेरा जडान गरिएको छ।
क्यामेराको अगाडि बाघ आउनासाथ स्वचालित रूपमा फोटो खिचिन्छ। मानिसको औंठाछाप फरक भएजस्तै हरेक बाघको जीउमा हुने पाटा (Stripes) फरक–फरक हुने भएकाले सोही पाटाको विश्लेषण गरेर बाघको संख्या पत्ता लगाइने प्राविधिकहरूले जनाएका छन्।
यसअघि सन् २०२१ मा गरिएको गणना (सन् २०२२ मा नतिजा सार्वजनिक) अनुसार नेपालमा कुल ३५५ वटा बाघ थिए। जसमा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ पाइएको थियो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ