बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • ब्लग
  • सहिद सन्ततिको नेतृत्वमा आकांक्षा: २०८४ मा मेयर पदका उम्मेदवार राजु महतो

सहिद सन्ततिको नेतृत्वमा आकांक्षा: २०८४ मा मेयर पदका उम्मेदवार राजु महतो


कान्तिपथ


राजु महतो, रौतहट। २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै युवानेता राजु महतोले मेयर पदमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन्। शहीद सन्तानका रूपमा चिनिएका महतो लामो समयदेखि शिक्षा, विद्यार्थी हकहित र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्।

बाल्यकालदेखि नै समाजमा देखिएको विभेद, अवसरको असमानता र संस्थागत अन्यायले उनलाई राजनीतितर्फ आकर्षित गरेको महतो बताउँछन्। “मैले अन्याय पढेर होइन, देखेर सिकेको हुँ,” उनी भन्छन्।

महतोका अनुसार यमुनामाई गाउँपालिका भित्र गरिब परिवारका विद्यार्थीहरूले गुणस्तरीय शिक्षा र समान अवसर पाउन नसकेको अवस्था अझै पनि विद्यमान छ। यही यथार्थलाई परिवर्तन गर्ने उद्देश्यका साथ आफू स्थानीय नेतृत्वतर्फ अघि बढेको उनको भनाइ छ।

विद्यार्थी जीवनदेखि नै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका महतोले शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्ने विषयलाई निरन्तर उठाउँदै आएका छन्। उनी भन्छन्, दलाल र पहुँचका आधारमा होइन, क्षमताका आधारमा अवसर मिल्ने व्यवस्था स्थानीय तहबाटै सुरु हुनुपर्छ।

हाल जापानमा उच्च शिक्षा अध्ययनरत रहेका महतोले त्यहाँ देखेको प्रविधि, अनुशासन र प्रशासनिक पारदर्शितालाई यमुनामाई गाउँपालिका मा लागू गर्ने योजना बनाएका छन्। “विदेशमा बसेर पनि आफ्नो गाउँ र समाजको भविष्य सोच्न सकिन्छ,” उनी भन्छन्।

महतोले सार्वजनिक रूपमा प्रस्तुत गरेको योजनाअनुसार मेयर निर्वाचित भएमा यमुनामाई गाउँपालिका भित्रका १००० विद्यार्थीलाई १०० प्रतिशत निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने, योग्य शिक्षकमार्फत निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने र शहीद परिवार तथा विपन्न समुदायलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

उनको अर्को मुख्य एजेन्डा स्थानीय सरकारलाई पूर्ण रूपमा पारदर्शी बनाउने रहेको छ। बजेट, योजना र सेवा प्रवाहलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने र नागरिकलाई प्रत्यक्ष जानकारी दिने प्रणाली लागू गर्ने उनको भनाइ छ।

स्थानीय बासिन्दाहरूका अनुसार महतो भाषणमुखीभन्दा काममुखी नेताको छवि बनाउँदै आएका छन्। “उहाँले समस्याबारे धेरै कुरा गर्नुहुन्छ, तर समाधानको खाका पनि साथमै ल्याउनुहुन्छ,” स्थानीय एक शिक्षक बताउँछन्।

संघर्ष, अध्ययन र अनुभवको संयोजनले आफूलाई नेतृत्वका लागि तयार बनाएको दाबी गर्दै महतो भन्छन्, यमुनामाई गाउँपालिका लाई अब नाराभन्दा स्पष्ट योजना र जवाफदेही नेतृत्व आवश्यक छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत