काठमाडौं प्रहरीले टोल–समाजमै पुगेर सुरक्षा सेवा दिने नयाँ योजना सार्वजनिक गर्नु शहरी सुरक्षाको सन्दर्भमा समयसापेक्ष र सकारात्मक कदमका रूपमा देखिएको छ। तीव्र शहरीकरण, बढ्दो जनघनत्व र साना–ठूला अपराधका घटनाले नागरिकमा असुरक्षाको भावना बढिरहेका बेला प्रहरी स्वयं नागरिकको ढोकासम्म पुग्नु विश्वास पुनःनिर्माण गर्ने प्रयास मान्न सकिन्छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाको पहलमा सुरु गरिएको ‘हाम्रो प्रहरी’ अभियान शहरी सुरक्षा अभ्यासमा महत्वपूर्ण मोडको संकेत हो। प्रहरीको जिम्मेवारीलाई कार्यालय र नियमित गस्तीमा मात्र सीमित नराखी टोल, समुदाय, विद्यालय र समाजसम्म विस्तार गर्ने यस अवधारणाले नागरिक–प्रहरी सम्बन्धलाई अझ व्यवहारिक र मजबुत बनाउने अपेक्षा जगाएको छ।
अपराध नियन्त्रण, अनुसन्धान, विपद् व्यवस्थापन, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम गर्न सामूहिक सहभागिता निर्माण गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानले समुदाय केन्द्रित सुरक्षालाई प्राथमिकतामा राखेको स्पष्ट हुन्छ। टोल, समाज र विद्यालयस्तरमा प्रत्यक्ष संवाद, सचेतनामूलक कार्यक्रम, सुरक्षा परामर्श तथा गुनासो–सुझाव संकलनले सूचनाको प्रवाहलाई छिटो र विश्वासयोग्य बनाउने सम्भावना बढाउँछ।
विद्यार्थी लक्षित सुरक्षा तालिम, लागू औषध तथा साइबर अपराधसम्बन्धी जनचेतना, साथै विपद् प्रतिकार्यको पूर्वतयारीजस्ता कार्यक्रम आजको आवश्यकता हुन्। यस्ता पहलले अपराध रोकथामसँगै जोखिम न्यूनीकरण र आपतकालीन समन्वयलाई पनि सुदृढ बनाउने विश्वास गरिएको छ। समुदायको सक्रिय सहभागिताले अनुसन्धानलाई प्रभावकारी बनाउने र विपद् बेला सामूहिक प्रतिक्रिया बलियो हुने अपेक्षा स्वाभाविक देखिन्छ।
यस योजनाको मूल भावना भनेको समुदाय–प्रहरी साझेदारीलाई व्यवहारमा उतार्नु हो। टोलस्तरमा प्रहरीको नियमित पहुँचले स्थानीय समस्या छिटो पहिचान हुने, सूचनाको आदान–प्रदान सहज हुने र साना विवाद समयमै समाधान हुने सम्भावना बढ्छ। यसले अपराध नियन्त्रण मात्र होइन, सामाजिक सद्भाव कायम राख्न पनि सहयोग पुर्याउँछ।
तर, योजना सफल बनाउन घोषणा मात्र पर्याप्त हुँदैन। आवश्यक जनशक्ति, तालिम, स्रोतसाधन र स्पष्ट कार्ययोजना अपरिहार्य छन्। प्रहरीको उपस्थितिलाई औपचारिक भेटघाटमा सीमित नगरी स्थानीय आवश्यकता बुझ्ने, युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने तथा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक देखिन्छ।
साथै, राजनीतिक वा व्यक्तिगत प्रभावबाट टाढा रहँदै निष्पक्ष र पारदर्शी सेवा प्रवाह हुनुपर्छ। नागरिकको गोपनीयता र सम्मानलाई प्राथमिकतामा राखेर काम गरिए मात्र टोल–समाजको विश्वास अझ बलियो बन्न सक्छ। स्थानीय सरकार र टोल विकास संस्थासँगको सहकार्यले यस योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ।
समग्रमा, टोल–समुदायमै पुगेर सुरक्षा सेवा प्रदान गर्ने काठमाडौं प्रहरीको योजना सही दिशातर्फको कदम हो। अब मुख्य चुनौती यसको प्रभावकारी कार्यान्वयन र निरन्तरता सुनिश्चित गर्नु हो। नागरिकको सक्रिय सहभागिता र प्रहरीको पेशागत प्रतिबद्धता मिलेमा मात्र यो पहल कागजबाट व्यवहारमा सफलतापूर्वक रूपान्तरण हुन सक्छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ