बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • सिन्धुलीका अपुरा काम पूरा गर्ने र नयाँ जनताका काम गर्ने प्रतिबद्धता गर्दछु: राजन दाहाल

सिन्धुलीका अपुरा काम पूरा गर्ने र नयाँ जनताका काम गर्ने प्रतिबद्धता गर्दछु: राजन दाहाल


कान्तिपथ


सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार लेखनाथ दाहाल (राजन) ले आफ्नो अघिल्लो कार्यकालमा सुरु भएका अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। २०७९ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि जिल्लामा थुप्रै विकास निर्माणका काम अघि बढाइएको उल्लेख गर्दै उनले आगामी फागुन २१ गतेको निर्वाचनमा पुनः निर्वाचित गराए बाँकी काम सम्पन्न गर्ने र नयाँ योजनाहरू सुरु गर्ने बताए।

जनताको सुख–दुःखमा सधैं साथ दिएको दाबी गर्दै दाहालले सिन्धुली–२ नेपाली कम्युनिष्ट पार्टीको मजबुत आधार क्षेत्र भएकाले सहज जित हासिल हुने विश्वास व्यक्त गरे। चुनावी अभियानका क्रममा दैनिक सयौँ कार्यकर्ता अन्य दलबाट पार्टीमा प्रवेश गरिरहेको उनको दाबी छ।

राष्ट्रिय प्राथमिकताका आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

दाहालले सुनकोशी–मरिण डाइभर्सन, कोखाजोर जलाशययुक्त आयोजना, चियाबारी–खुर्कोट सुरुङमार्ग तथा मरिण क्षेत्रमा राँगाको मासु निर्यातसम्बन्धी योजना जस्ता राष्ट्रिय प्राथमिकताका आयोजनाहरू समयमै सम्पन्न गर्न पहल गर्ने बताएका छन्।

सडक, पुल र पूर्वाधारमा जोड

पालिका सदरमुकामदेखि वडा सदरमुकामसम्मका सडक स्तरोन्नति, निर्माणाधीन सडकका लागि आवश्यक बजेट व्यवस्थापन, संघ–प्रदेश–स्थानीय सरकारबीच समन्वय गर्दै ग्रामीण सडक विस्तार, कमलामाई नगरपालिकासहित अन्य पालिकामा चक्रपथ निर्माण, दुम्जा–लालबन्दी सडक सम्पन्न, आवश्यक स्थानमा पक्की पुल निर्माण तथा नदी नियन्त्रणजस्ता योजनालाई निरन्तरता दिने उनले जनाएका छन्।

ट्रमा सेन्टर र औद्योगिक जोनको योजना

कमलामाई नगरपालिका–६ मा मिनी ट्रमा सेन्टर स्थापना गरी विपन्न नागरिकलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने योजना उनले सार्वजनिक गरेका छन्। मरिण र हरिहरपुरगढी क्षेत्रमा औद्योगिक जोन स्थापना गरी लगानी आकर्षित गर्ने लक्ष्यसमेत राखिएको छ।

‘एक घर–एक धारा’ अभियानमार्फत स्वच्छ खानेपानी व्यवस्थापन, सुनकोशी–मरिण डाइभर्सनबाट कमलामाई–४, ५, ६ र ७ का खानेपानी समस्या समाधान, कृषि आधुनिकीकरण तथा पकेट क्षेत्र निर्धारणमार्फत उत्पादन र व्यवसायीकरणमा जोड दिने उनको योजना छ।

शैक्षिक र पर्यटन हब बनाउने लक्ष्य

सिन्धुलीलाई शैक्षिक तथा पर्यटन हबको रूपमा विकास गर्ने अर्को लक्ष्य दाहालले अघि सारेका छन्। सामुदायिक विद्यालयको गुणस्तर सुधार, पुरातात्विक र धार्मिक स्थल संरक्षण तथा सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी, माइस्थान मन्दिरलगायतका संरचनाको विकासमार्फत पर्यटन प्रवर्द्धन गर्ने उनले बताएका छन्।

यसैगरी, ग्रामीण विद्युतीकरण विस्तार, आवश्यक स्थानमा टेलिकम टावर निर्माण, भूमिहीन सुकुम्बासी तथा किसान–मजदुरका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

कानुन निर्माणमा सक्रिय भूमिका

दाहालले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्दै संविधानको मर्मअनुसार ऐन निर्माण र संशोधनमा सक्रिय रहने बताएका छन्। संघीय शिक्षा ऐन, निजामती कर्मचारी ऐनलगायत आवश्यक कानुन निर्माण तथा मौलिक हकको व्यवहारिक कार्यान्वयनमा जोड दिने उनले प्रतिबद्धता जनाएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत