शनिबार, चैत्र २१, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, ब्ल्याकमेलिङ र सम्पत्ति शुद्धीकरणको अनुसन्धान

टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, ब्ल्याकमेलिङ र सम्पत्ति शुद्धीकरणको अनुसन्धान


कान्तिपथ


काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी र ब्ल्याकमेलिङको आरोपमा पक्राउ पुर्जी जारी भएको छ। सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा सातदोबाटो प्रहरी वृत्तले अनुसन्धान अघि बढाएको हो।

साउन २४ गते दर्ता भएको उजुरीमाथि अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। पक्राउ पुर्जी जारी भएपछि अधिकारी चीन गएको प्रहरीको भनाइ छ।

प्रहरी स्रोतका अनुसार अधिकारीले व्यक्तिगत सम्बन्ध बिग्रिएपछि जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिँदै चिमोरियाबाट करिब साढे ४ करोड रुपैयाँ नगद तथा ठूलो परिमाणमा गहना लिएको आरोप छ। ठगीसँगै अनुचित लेनदेन र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ।

सम्पत्ति शुद्धीकरण विभागमा परेको उजुरीसमेत सातदोबाटो प्रहरीलाई पठाइएपछि उक्त विषयमा पनि छानबिन सुरु गरिएको छ। अनुसन्धानका क्रममा अधिकारीसँग अस्वाभाविक सम्पत्ति आर्जन भएको प्रारम्भिक संकेत देखिएको प्रहरीको दाबी छ। २० करोड रुपैयाँभन्दा बढीको कारोबार र एक करोडभन्दा बढी बैंक ब्यालेन्स फेला परेको स्रोतको भनाइ छ। कुल सम्पत्ति करिब १६–१७ करोड रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ।

प्रहरीले ठगी, अनुचित लेनदेन र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा दायर गर्ने तयारी गरिरहेको जनाएको छ। मुद्दा दर्ता भएपछि आवश्यक परे इन्टरपोलमार्फत नेपाल ल्याउने प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाइ छ।

यसैबीच, अधिकारीले भने चीनबाटै भिडियो सन्देश सार्वजनिक गर्दै आफूविरुद्ध प्रहरीले पूर्वाग्रह राखेको दाबी गरेकी छन्। आफू भदौ १९ गतेसम्म नेपालमै रहेको तर छलफलका लागि नबोलाइएको र चीन पुगेपछि मात्रै पक्राउ पुर्जीको जानकारी पाएको उनको भनाइ छ। उनले वकिलमार्फत कानुनी प्रक्रिया सामना गरिरहेको बताएकी छन्।

अधिकारीले आफ्नो सम्पत्ति रोक्का गरिएको, शोरुमबाट बहुमूल्य सामान जफत गरिएको र नजिकका व्यक्तिहरूलाई अनावश्यक रूपमा दुःख दिइएको आरोप लगाएकी छन्। केही समयअघि कुमारीपाटीस्थित ‘तुलसा कलेक्सन’बाट सामान बरामद गरिएको थियो, जसबारे अदालतको आदेशअनुसार निर्णय हुने प्रहरीले जनाएको छ।

अधिकारीले सातदोबाटो प्रहरी वृत्तकी प्रमुख डीएसपी पूर्णिमा चन्दमाथि पनि प्रतिशोधको आरोप लगाएकी छन्। तर प्रहरी स्रोतले उक्त आरोप अस्वीकार गर्दै विगतमा भएको गहना खरिदको रकम पूर्ण रूपमा भुक्तानी भइसकेको दाबी गरेको छ। डीएसपी चन्द करिब पाँच महिनाअघि मात्र सातदोबाटोमा सरुवा भएर आएको र अनुसन्धान उनी आउनुअघि नै सुरु भएको प्रहरीको भनाइ छ।

टिकटकमा करिब तीन लाख फलोअर्स रहेकी अधिकारी सामाजिक तथा सेलिब्रिटीसम्बन्धी विषयमा सक्रिय रूपमा अभिव्यक्ति दिँदै आएकी छन्। हाल उनी चीनमै रहेर व्यवसाय सञ्चालन गरिरहेकी बताएकी छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत