बुधबार, असार ३१, २०८३

विश्वविद्यालयको भिसी बन्न २१८ जनाको दौड


अमर श्रेष्ठ


देशभरका आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि कुल २१८ जनाले आवेदन दिएका छन्। सरकारले यसअघि भएका नियुक्तिहरू खारेज गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वैशाख २५ गते खुला आवेदन आह्वान गरेको थियो।

शिक्षा मन्त्रालयका अनुसार सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालयका लागि परेको छ। त्रिविको उपकुलपति पदका लागि ५० जनाले आवेदन दिएका छन्। त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा ३८/३८ जनाको आवेदन दर्ता भएको छ।

राजर्षि जनक विश्वविद्यालयका लागि २७, मध्यपश्चिम विश्वविद्यालयका लागि २० तथा सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जनाले आवेदन दिएका छन्। यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालयमा १५ र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।

बालेन शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत पूर्व उपकुलपति तथा अन्य पदाधिकारीलाई पदमुक्त गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो। मन्त्रालयले १० दिनको समयसीमा राखेर नयाँ उपकुलपति छनोटका लागि आवेदन मागेको थियो।

उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी बनाउन शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ। समितिले विज्ञ उपसमिति बनाएर उम्मेदवारहरूको मूल्याङ्कन गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ।

आवेदन दिने उम्मेदवारहरूले सम्बन्धित विश्वविद्यालयको सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी पाँच हजार शब्दको रणनीतिक दृष्टिपत्र र कार्ययोजना पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत