मङ्लबार, जेष्ठ १९, २०८३

गणतन्त्र कमजोर भए लोकतान्त्रिक अधिकार पनि संकटमा पर्छ : अध्यक्ष ओली


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सुदृढीकरणमार्फत मात्रै जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन सम्भव हुने बताएका छन्।

१९ औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको उपलब्धि भएको उल्लेख गरेका हुन्।

उनले नेपाली जनताले आफ्नै शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न सात दशकभन्दा बढी समय संघर्ष गर्नुपरेको स्मरण गरेका छन्। बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार व्यक्त गर्ने अधिकारका लागि हजारौँ नागरिकले बलिदान दिएको तथा धेरैले जेल, यातना र निर्वासन भोग्नुपरेको उनले बताएका छन्।

ओलीका अनुसार जनताको संघर्षपछि हुकुमी शासन अन्त्य भई कानुन र लोकतान्त्रिक संस्थाद्वारा सञ्चालित प्रणाली स्थापना भएको हो। “व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनाबाट सञ्चालन हुने पद्धति सुरु भयो,” उनले उल्लेख गरेका छन्।

उनले नेपालले गणतान्त्रिक प्रणालीको अभ्यास थालेको समय छोटो भए पनि सामाजिक तथा भौतिक विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरेका छन्। स्थानीय सरकारको विस्तार, महिला तथा समावेशी समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, डिजिटल सेवाको पहुँच र पूर्वाधार विकासलाई उनले गणतन्त्रका महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

परिवर्तनको गति अपेक्षाअनुसार तीव्र नभए पनि त्यसलाई लिएर लोकतान्त्रिक प्रणालीप्रति नै अविश्वास फैलाउन नहुने ओलीको भनाइ छ। असन्तुष्टिको समाधान पनि लोकतान्त्रिक प्रक्रियाभित्रै खोजिनुपर्ने उनले बताएका छन्।

ओलीले लोकतान्त्रिक संस्थामाथि अविश्वास पैदा गर्ने र भावनात्मक उत्तेजनाका आधारमा लोकतान्त्रिक संरचना कमजोर बनाउने प्रवृत्तिले अधिनायकवादको खतरा बढाउन सक्ने चेतावनी दिएका छन्।

उनले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको स्वतन्त्रता तथा अधिकारक्षेत्रको संरक्षण गर्नु नै गणतन्त्रको रक्षा भएको उल्लेख गरेका छन्। “लोकतान्त्रिक गणतन्त्र कमजोर भए समाज पनि कमजोर हुन्छ र जनताले सुख पाउँदैनन्,” उनले सन्देशमा भनेका छन्।

गणतन्त्र दिवसका अवसरमा ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतान्त्रिक व्यवस्था कमजोर भए भविष्यमा पर्ने असरबारे गम्भीर रूपमा सोच्न सबैमा आग्रह गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत