बागमती प्रदेशको सिन्धुली जिल्लामा नौवटा स्थानीय तह छन् । त्यसमा दुईवटा नगरपालिका र सातवटा गाउँपालिका छन् । यो जिल्लामा एमाले, कांग्रेस र माओवादीको प्रभाव उस्तै देखिन्छ । यिनै तीन दलबीच नै आगामी चुनावमा मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । जिल्लामा दुई लाख ६ हजार तीन सय ६३ मतदाता छन् । तीमध्ये एक लाख पाँच हजार नौ सय ४२ पुरुष र एक लाख तीन सय ९३ महिला रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
गत चुनावको परिणाममा एमालेले तीन अध्यक्ष र चार उपाध्यक्ष, माओवादीले तीन अध्यक्ष र तीन उपाध्यक्ष तथा कांग्रेसले ३ अध्यक्ष र दुई उपाध्यक्ष जितेका थिए । तीनवटै दलको उस्तै प्रभाव रहेकाले गत चुनावमा यहाँ तालमेल भएन । यसपटक एमाले विभाजनपछि एकीकृत समाजवादीको पनि दबदबा बढेको छ ।
०७४ सालको चुनावमा कमलामाई नगरपालिकामा एमालेले मेयर–उपमेयर दुवै जित्यो । दुधौली नगरपालिकामा पनि दुवै पद एमालेले जित्यो । यहाँ मेयरमा माओवादी र उपमेयरमा कांग्रेस दोस्रो भए । त्यसबाहेक एमालेले फिक्कल गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष र तीनपाटनको उपाध्यक्ष पनि जितेको थियो ।
माओवादी केन्द्रले मरिण, सुनकोसी र हरिहरपुरगढी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष दुवै जित्यो । दुई तहमा माओवादीले फराकिलो अन्तरको जित निकालेको थियो । कांग्रेसले गोलन्जोर र घ्याङलेख गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष तथा तीनपाटनमा अध्यक्ष जित्यो । मरिण त माओवादीको गढ नै हो । सुनकोसी गापामा भने माओवादी झिनो अन्तरले विजयी भएको थियो ।
माओवादी, कांग्रेस र समाजवादी तीन दलबीच तालमेल भएमा एमालेले पहिले जितेका पालिका गुमाउन सक्नेछ । गठबन्धन नहुँदा पनि थोरै मतले जितेका स्थानमा एकीकृत समाजवादीका कारण उसलाई धक्का लाग्न सक्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ