सैनिक उपरथी प्रेम शाहीलाई अवकाशको मुखमा नेपाली सेनाले सैनिक प्रहरी हिरासतमा राखेको छ। उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका उपरथी शाहीलाई हिरासतमा राखिएको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले पर्दाफासलाई जानकारी दिए। प्रवक्ता भण्डारीका अनुसार विगतमा भ्रष्टाचार गरेको आरोप लागेको र उक्त विषयमा छानबिन बाँकी रहेकाले हिरासतमा लिइएको हो।
शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए। उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए। तर, उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको हाे। उपरथी शाहीले विगतमा रथी हुनका लागि वास्तविक जन्ममितिभन्दा एक वर्ष कम उमेरका शैक्षिक प्रमाणपत्र लिएर रथी हुने प्रयास गरेको उच्च सैनिक स्रोत बताउँछ।
उपरथी शाहीले शैक्षिक प्रमाणपत्रका आधारमा आज अर्थात् २० पुसमा अवकाश पाउनेछन् । शैक्षिक प्रमाणपत्रमा उनको जन्म मिति २० पुस २०२२ छ । सोही कागजात उपरथी शाहीले सेनाको जागिर खाँदा पेस गरेका थिए ।
१६ भदाै २०४३ मा लिएकाे उनको नागरिकतामा भने एक वर्ष कम २२ पुस २०२३ छ । नागरिकतामा भएको उमेरका कारण आफ्नो कार्यकाल अझै एक वर्ष हुनुपर्ने उपरथी शाहीको दाबी थियो । सोहीअनुसार उपरथी शाहीले यसअघि नै सैनिक मुख्यालयमा आफ्नो उमेर नागरिकताका आधारमा कायम गरी पाऊँ भन्दै निवेदनसमेत दिएका थिए ।
सोही निवेदनका आधारमा २०७४ मा तत्कालीन बलाधिकृत पूर्णचन्द्र थापा हाल (प्रधानसेनापति भएर अवकाश) को नेतृत्वमा बनेको सैनिक कर्मचारीको उमेर, नामथर मिलाउन बनेको समितिले शाहीको उमेर २२ पुस २०२३ नै कायम गर्यो । उक्त पत्र तत्कालीन प्रधानसेनापतिले रक्षा मन्त्रालयमा पठाएका थिए । मन्त्रीस्तरीय निर्णयले भने शाहीको उमेर २० पुस २०२२ नै कायम रहने निर्णय गर्यो । मन्त्रीस्तरीय निर्यणप्रति उपरथी शाहीले चित्त बुझाएनन् ।
उनी जङ्गी अड्डा र रक्षा मन्त्रालयविरुद्ध २०७७ मै सर्वोच्च पुगे ।हालसम्म उक्त मुद्दा विचाराधीन छ । तर, उपरथी शाही अवकाशको पत्र बुझेर पनि ७ पुसमा फेरि सेवाअवधि एक वर्ष बाँकी रहेको दलिल पेस गरेर अन्तरिम आदेशको मागसहित सर्वोच्च पुगे ।
योपटक भने सर्वोच्चले शाहीको मागअनुसार नै अन्तरिम आदेश जारी गर्यो । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले १३ पुसमै तत्काल उपरथी शाहीलाई जङ्गीअड्डाले ४ पुसमा थमाएको अवकाश पत्र कार्यान्वयन नगर्नू नगराउनू भन्ने आदेश दियो ।
शाहीले कक्षा ३ सम्मको प्राथमिक शिक्षा जन्म जिल्ला डोटीको स्थानीय विद्यालयबाट लिएका थिए । सन् १९७६ मा कक्षा ४ मा बुढानीलकण्ठ स्कूलमा भर्ना भई सन् १९८३ (विसं २०३९) मा त्यही विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरी विद्यालय शिक्षा पूरा गरे । त्यसपछिको शिक्षा भारत उत्तराखण्डको मसुरी मोर्डन स्कुलको इण्डियन स्कुल एक्जामिनेसन सर्टिफिकेट १२ कक्षा (प्रमाणपत्र तह सरह) अध्ययन गरे ।
शाहीले नेपाली सेनामा प्रवेश गर्नु अघि १६ भदौ २०४३ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । सेनामा भर्नाका लागि उनले उमेर बढाएका थिए । अनि पछि त्यो नागरिकताको अर्को प्रतिलिपि लिँदा उमेर घटाइएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ