१० पुसमा सरकारको नेतृत्व गर्दै सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले १७ चैत शुक्रबार दस दलीय गठबन्धनमा आबद्ध दलहरूलाई समेटेर सातौंपल्ट मन्त्रिपरिषद् विस्तार गरे। शुक्रबार विस्तारित मन्त्रिपरिषद्पछि प्रधानमन्त्री प्रचण्डलाई १ राज्यमन्त्रीसहित १६ मन्त्रीहरूले काँध थाम्नेछन्।
शुक्रबार नै नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ लिइसकेका छन्। शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले सपथ लिएर आ–आफ्ना मन्त्रालयको जिम्मा सम्हालिसकेका छन्।
यी मध्ये एक हुन् रेकर्डधारी मन्त्री शरदसिंह भण्डारी । १२ पटक मन्त्री भैसकेका उनले पछिल्लो पटक मन्त्री भएको खुसीमा स्याम्पेन नै फोरेका छन् । सामाजिक संजाल टिकटकमा सार्वजनिक भएको भिडियोमा भण्डारीले एक पारिवारिक माहोलमा स्याम्पेन फोरेको देख्न सकिन्छ ।
लोकतान्त्रिक समाजवादी नेता शरदसिंह भण्डारी महोत्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुन्। सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का डा. विजयकुमार सिंहलाई दोब्बर मतले पराजित गरेका थिए। भण्डारी र सिंहबीचको मतान्तर १४ हजार ७० मत छ। भण्डारीले २५ हजार १९० मत प्राप्त गरेका छन्। पराजित सिंहले ११ हजार १२० मत ल्याएका थिए। महोत्तरी २ बाट भण्डारी दोस्रो पटक विजयी भएका हुन्। उनी २०७४ को निर्वाचनमा समेत विजयी भएका थिए। उनी अहिलेसम्म पटक–पटक गरेर १२ पटक मन्त्री बनिसकेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ