वीरगञ्ज । वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउन महानगरले आयोजना गरेको दुई दिने रात्रि बजार शनिबार सफलतापूर्वक सम्पन्न भएको छ ।
हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजना अनुरुप दोस्रो पटक लागेको बजार सफलतापूर्वक सम्पन्न भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।
नयाँ वर्षको अवसर पारेर सुरु गरिएको रात्रि बजार उत्साहपूर्ण देखिएपछि महानगरले हरेक महिनाको अन्तिम शुक्रवार र शनिवार रात्रि बजार सञ्चालन गर्ने निर्णय अनुरुप वैशाखको अन्तिम शुक्रवार र शनिवार बजार लगाइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
सामान्य अवस्थामा पनि यहाँको बजार अबेरसम्म खोल्न लगाउने प्रयत्न स्वरूप रात्रि बजारको अवधारणालाई अघि बढाइएको उहाँले बताउनुभयो ।

नयाँ वर्षका बेला आदर्शनगर चोकबाट कैलास चोक हुँदै पुरानो बसपार्कसम्म लागेको रात्रि बजार यस पटक भने माइस्थान चोकबाट आदर्शनगर चोक हुँदै भाजुरत्न चोकसम्म लागेको थियो ।
शुक्रबार र शनिबार लगाइएको रात्रि बजारमा वीरगञ्जसहित बारा, पर्सा, रौतहटका अलावा बागमती प्रदेशको हेटौँडा, नारायणगढ तथा छिमेकी भारतीय सहरबाट पनि बजार गर्न आउनेको भिड रहेको थियो ।
महानगरले नयाँ नेतृत्व पाएसँगै कोभिडका कारण खुम्चिएको अर्थतन्त्र चलायमान बनाउन प्रयत्न गर्दै आएको छ । रात्रि बजारमा स्थानीय उत्पादन, खानाका परिकार, उपभोग्य बजारका अलावा भारतको बङ्गालबाट मसाज, मेहन्दी लगाउने टोली आएर सेवा दिएको थियो ।
यसैबिच वीरगञ्जमा रात्रि बजार सफलतापूर्वक सम्पन्न भएसँगै देशका विभिन्न स्थानीय तहले पनि आफ्नो ठाउँमा रात्रि बजार लगाउने जमर्को गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिकाले पनि जेठ महिना भित्रैबाट रात्रि बजार लगाउने तयारी थालेको छ ।
रात्रि बजार तयारी स्वरूप भरतपुर महानगरको टोलीले शुक्रबार र शनिबार वीरगञ्जमा भएको रात्रि बजारको अवलोकन गरेको छ । भरतपुर महानगरपालिका र चितवन उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले शनिवार वीरगञ्जको रात्रि बजार अवलोकन गरेको थियो ।
भरतपुर रात्रि बजार सञ्चालन समितिका संयोजक समेत रहनुभएका प्रगतिपथ टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठले जेठ १५ गते भरतपुरमा रात्रि बजार लगाउने गरी आफूहरूले पनि तयारी अघि बढाएको बताउनुभयो । वीरगञ्ज महानगरपालिकाले गरेको सुरुवात सह्रानीय रहेको भन्दै उहाँले अर्थ व्यवस्था चलायमान बनाउन आफूहरूले पनि भरतपुरमा रात्रि बजार लगाउने बताउनुभयो ।
वीरगञ्जको रात्रि बजार अवलोकन गर्न भरतपुरबाट महानगरका पदाधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सरोकारवालाहरूको टोली आएको थियो ।
यस्तै मधेस प्रदेशको जनकपुरधाममा पनि रात्रि बजार लगाउन व्यवसायीले माग गरेका छन् । व्यवसायीले स्थानीय तह तथा प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै रात्रि बजारको व्यवस्था गर्न माग गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ