शुक्रबार, चैत्र २७, २०८२

धनकुटामा रोजगार मेला (फोटोफिचर)


कान्तिपथ


धनकुटा । जागिर खोज्ने र जागिर दिनेहरूका बीचमा भेटघाट गराउने उद्देश्यले धनकुटामा आज रोजगार मेलाको आयोजना गरिएको छ । 

धनकुटा नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको एक दिने मेलालाई वृत्ति परामर्श तथा रोजगार मेला भनिएको छ । 

नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत मेलाको आयोजना गरिएको हो । 

मेलामा स्टल राख्न र प्रवेश गर्न निःशुल्क व्यवस्था गरिएको छ ।  मेलामा नगर क्षेत्रमा रहेका उद्योग÷व्यवसाय, बैङ्क तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहेका छन् । 

मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, मेलामा नै रोजगार प्राप्त गर्न सकिने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिनुभयो । 

एकातिर रोजगारी कहाँ पाइएला भनेर काम खोजिरहेको युवा बेरोजगारको पङ्क्ति र अर्कोतिर कामदारको अभाव झेलिरहेका व्यवसायीहरूलाई एकै ठाउँमा भेटाउने मेलाको मूल उद्देश्य रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । 

उहाँले काम गर्न इच्छुक तर हातमा सिप नभएका युवालाई पनि रुचि अनुसारको सिपमूलक तालिमका लागि छनौट गरिने बताउनुभयो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको उहाँको भनाइ छ । 

मेलामा विभिन्न रोजगार प्रदान गर्नसक्ने ५३ वटा संस्था तथा व्यवसायले १ सय ६७ जना जनशक्ति माग गरेका छन् । 

माग बमोजिमका जनशक्ति आएमा नगरपालिकाको रोहबरमा सम्झौता गरेर रोजगार प्रदान गरिने नगरपालिकाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत