चितवन । चितवन उद्योग सङ्घले स्थानीय कृषिजन्य, रैथाने, मौलिक उत्पादनहरूको बजारीकरण गर्ने उद्देश्यले शनिबारे मेला गर्ने भएको छ । आउने साउन ६ गतेदेखि हरेक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुर “शनिबारे मेला” आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।
मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने र स्थानीय तह हरुको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनहरूको स्टल रहने छ ।
मेलामा ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरू, हस्तकलाका सामाग्रीहरू, अण्डा, माछा तथा गेडागुडी, चिया, कफी तथा हर्बल सामाग्रीहरू र विभिन्न परिकारका खानाका स्टलहरू रहने संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो । मेलामा स्टल राख्न चाहनेहरूको लागि प्रति दिन प्रति स्टल रु १,०००।– सहभागिता शुल्क लाग्ने छ ।
मेला स्थल वरिपरि रहेका नीजि तथा सरकारी संस्थामा कार्यरत २० हजार भन्दा बढी जागिरे, स्थानीय टोल तथा छिमेकी पालिकाहरूका व्यक्तिहरू नै मेलाका मुख्य लक्षित ग्राहकका रुपमा रहने अपेक्षा सङ्घको छ ।
मेलामा राखिने विशेष परिकार तथा उत्पादनहरू जिल्ला बाहिर पठाउनका लागि समेत बिक्री गरिने लक्ष्य लिइएको छ । उत्पादक र उपभोक्ताहरूलाई एउटै छानामुनि प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन हजार भन्दा बढी स्थानीय खरिदकर्ताको उपस्थिति हुने अपेक्षा राखिएको छ ।
मेलामा अवलोकन गर्न आउने ग्राहकहरूको लागि निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको कँडेलले बताउनु भयो । । मेलालाई ँ Farm to Kitchen अवधारणा अनुसार उत्पादक र उपभोक्ताहरूको माग बमोजिम आवश्यकता अनुसार परिष्कृत गर्दै नयाँ वस्तु तथा उत्पादनहरू सार्वजनिक गर्ने, खरिदकर्ता तथा विक्रेताको जमघट हुने र उद्यमीहरूको भेटघाट हुने उपयुक्त स्थलको रुपमा विकसित गरिने अध्यक्ष कँडेलको भनाई छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ