काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एनसेलसँग के कनेक्शन हो ? भनेर प्रश्न सोधेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले कानूनविपरित एनसेलको नवीकरण गरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले भने,‘कानूनविपरित एनसेलको नवीकरण हुने भएछ ।
करदाता कार्यालयले तोकेको राजस्व नलिईकन सरकारले एनसेलको लाईसेन्स नवीकरण गर्ने निर्णय गर्यो ।
यही भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले किस्ताबन्दीमा राजस्व लिनेगरि लाईसेन्स नवीकरण गर्ने निर्णय गर्यो ।
यो पहिलो होईन, यो तेस्रोपटक किस्तावन्दीमा नवीकरण गर्ने निर्णय गरिएको छ ।
अरबौं अरब राजस्व हिनामिना हुनेगरि जो सरकारले गरिरहेको छ, यहाँ गम्भीर प्रश्न उठेको छ ।
के आधारमा र कुन कानूनअन्तर्गत रहेर यो नवीकरण गरियो ?
म प्रश्न गर्न चाहन्छु । प्रधानमन्त्रीको एनसेलसँग कस्तो कनेक्शन छ ?
हामी जान्न चाहन्छौं ।
ठूलाबडाहरुलाई एउटा कानून लाग्ने अनि सानालाई अर्को कानून लाग्ने हुन्छ ?
आम जनताले आफ्नो व्यवसायिक फर्मलाई नवीकरण गर्नुपर्दा के उसले राजस्व छुट पाउँछ ?
सानाले त नवीकरण गर्दा ढिला भए जरिवाना तिर्नुपर्छ ।
यो प्रवृत्तिले राजस्व संकलनभन्दापनि व्यक्ति मोटाउने कुरा हामीले हेरिरहेका छौं ।’
उनले एनसेलले अरबौं रुपैयाँ राजस्व रोकेर राखेको र सरकारलाई नबुझाएको स्मरण गराए ।
उनले प्रश्न गरे–‘यदि त्यो पैसा उठेन भने वा ती विदेशी लगानीकर्ता भाग्यो भने राजश्व कसले दिने ?
प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ कि पर्दैन् ? अहिलेका मन्त्रिपरिषद्का मौजुदा मन्त्रीहरु यसको जमानत बस्नुपर्छ कि पर्दैन् ?
सरकारले आफ्नो विश्वासमा यो निर्णय लिईराख्दा भोलि यी विदेशी लगानीकर्ता भाग्यो भने र भोलि यो राजस्व कसैले दिने स्थिति भएन भने भोलि यो क्याविनेटका सदस्यहरु यसको जिम्मेवार हुनुपर्छ कि पर्दैन् ?’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ