काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
राष्ट्र, जनता र संगठन प्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त गरेको पद र जिम्मेवारी अनुरूप नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढिकरण र संगठनको वृहत्तर हितका लागि आवश्यक नीति निर्माण तथा दीर्घकालीन महत्वका रणनीतिक योजना निर्माणमा अझ बढी क्रियाशील र समर्पित भएर कार्यसम्पादन गर्ने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
नागरिकको सुरक्षा एवम् भरोसालाई कायम राख्दै समाजमा कानूनी शासनको प्रयात्भूति दिलाउनु प्रहरीको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै आफ्नो जिम्मेवारी इमानदारी र पारदर्शीताका साथ सम्पादन गरी नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउँदै जानुपर्नेमा उनले जोड दिए।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरूङले संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा, इमानदारीता एवम् लगनशिलताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ