बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • नक्कली प्रमाणपत्र र स्काउटमा मनपरी सेवा लिएकी स्मृति बराल अनेरास्ववियुकाे सचिवमा उम्मेदवार

नक्कली प्रमाणपत्र र स्काउटमा मनपरी सेवा लिएकी स्मृति बराल अनेरास्ववियुकाे सचिवमा उम्मेदवार


कान्तिपथ


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको र नेपाल स्काउटमा पद र सुविधा दुरुपयोग गरेको गम्भीर आरोपमा मुछिएकी स्मृति बराल नेकपा एमाले निकट अनेरास्ववियुको सचिव पदमा उम्मेदवार बनेकी छन्।

सार्वजनिक जीवनमा नैतिकताको सवाल उठाइने बेला विवादास्पद व्यक्तित्वलाई नेतृत्वमा ल्याउने प्रयासप्रति व्यापक आलोचना सुरु भएको छ।

बरालले सन् २०१९–२० मा भारतीय विश्वविद्यालयबाट B. Tech गरेको भनी पेश गरेको प्रमाणपत्रकै समय उनी नेपालमै पोखरा विश्वविद्यालयअन्तर्गत BE Civil को परीक्षा दिइरहेकी थिइन् भन्ने प्रमाण सार्वजनिक भइसकेको छ।

यस्तै, निर्देशक रामप्रसादसंग मिलेमतोमा नेपाल स्काउटको ‘अन्तर्राष्ट्रिय आयुक्त’ पदमा पुगेर ‘मनपरी तलब’ लिएको पनि खुलासा भइसकेको छ।

हाल उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका क्रममा रहे पनि उनी अनेरास्ववियुमा सचिव पदका लागि अघि सारिएको छ।

पार्टी र विद्यार्थी संगठनभित्र यसबारे कुनै स्पष्ट स्पष्टीकरण आउन सकेको छैन।

नेतृत्व चयनमा नैतिकता खोई ?

राजनीतिक र सामाजिक क्षेत्रका धेरैले यो घटनालाई “नैतिकता र जवाफदेहिताको घात” भनेका छन्। विद्यार्थी संगठनको सचिव जस्तो जिम्मेवार पदमा यस्ता गम्भीर आरोपमा मुछिएकी व्यक्ति उठाउनु विद्यार्थी आन्दोलनकै अपमान भएको टिप्पणी सामाजिक सञ्जालमा खुलेर भइरहेको छ।

शैक्षिक प्रमाणपत्रमा झुटको आरोप, आयोगको छानबिन चलिरहेको अवस्थामा उम्मेदवारी

बरालमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चलिरहेको बेला विद्यार्थी संगठनको सचिवस्तरको उम्मेदवारी दिएकोप्रति आलोचना बढिरहेको छ। कानूनविद्हरूका अनुसार, छानबिनको अन्तिम नतिजा आउनुअघि यस्ता पदमा उम्मेदवारी दिनु संगठनको आन्तरिक नियम र नैतिक मानकसँग विसंगत छ।

अनेरास्ववियुका केही पूर्व नेताहरूले बरालको उम्मेदवारीमाथि प्रश्न उठाएका छन्। “यदि प्रमाणपत्र नक्कली ठहरिएमा के अनेरास्ववियुले सचिव पदमा रहेका व्यक्तिलाई कारबाही गर्ने तयारी गरेको छ?” एक जना पूर्व अध्यक्षले नाम नखुलाउने शर्तमा भने।

नेपाल स्काउटकाे तलब प्रकरणले थप जटिलता

बरालले नेपाल स्काउटको अन्तर्राष्ट्रिय आयुक्तका रूपमा कार्यरत रहँदा ‘मनपरी’ रूपमा तलब लिएको आरोपले थप विवाद सिर्जना गरेको छ। स्काउटका आन्तरिक स्रोतहरूका अनुसार, उनले कुनै औपचारिक छनोट प्रक्रिया विना सो पद सम्हालेको र त्यस क्रममा सार्वजनिक स्रोतको दुरुपयोग भएको ठहर गरिने आधारहरू पाइएका छन्। पुर्व प्रमुख आयुक्त लाेक बहादुर भण्डारी र निर्देशक रामप्रसाद भण्डारीसंग निकट सम्बन्ध बनाएकै कारण अन्तर्राष्ट्रिय आयुक्त बन्न सफल भएकी हुन् ।

राजनीतिक संरक्षणमा बारम्बार विवादास्पद पात्रहरू

नेपालको विद्यार्थी राजनीति क्षेत्रमा विवादास्पद पात्रहरूलाई राजनीतिक संरक्षण दिइने परिपाटी नयाँ होइन। तर, सार्वजनिक छानबिनको क्रममा रहेकी एक पात्रलाई सचिवजस्तो जिम्मेवारीपूर्ण पदमा पुर्‍याउने प्रयासले सम्पूर्ण संगठनमाथि नै प्रश्न उठेको छ। यसले गर्दा संगठनभित्रका अन्य योग्य र निःस्वार्थ कार्यकर्ताहरू हतोत्साहित हुन थालेका छन्।

जनताको करबाट चल्ने संगठनको जिम्मेवारी सम्हाल्न आउने पात्रहरूबारे पारदर्शिता नहुनु लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी सामाजिक सञ्जालमा व्यापक भइरहेको छ।

यस बिषयमा कान्तिपथ डटकमले स्मृति बरालसंग फाेन सम्पर्क गरि बुझ्न खाेज्दा आफुलाई यस बिषयमा केही जानकारी नरहेकाे बताइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत