काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका रामबहादुर बम्जनको मुद्दा सुनुवाइका लागि पेसीमा चढेको छ ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बमजनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि त्यसविरुद्ध बम्जन जनकपुर उच्च अदालत पुगेका थिए ।
उच्च अदालतले जिल्लाको सुरुको आदेश सदर गरेपछि थुनामुक्त गर्न माग गर्दै दफा ७३ अन्तर्गत निवेदन लिएर सर्वोच्च आएका हुन् ।
बम्जनविरुद्ध सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो ।
बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको थियो ।
यसअघि पनि सर्लाही जिल्ला अदालतले बमजनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ