मङ्लबार, चैत्र १७, २०८२

अर्थमन्त्री वाग्लेको सुरुआती कदम—१५ ऐन खारेजी र आर्थिक सुधारका लागि कार्यदल गठन


कान्तिपथ


प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै महत्वपूर्ण निर्णयहरू गरेका छन्। उनले पहिलो चरणमै राजस्व अनुसन्धान विभागसहित १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

यससँगै उनले १३ चैतसम्मको आर्थिक अवस्थालाई समेट्ने ‘ह्वाइटपेपर’ तयार गर्न कार्यदल गठन गर्ने घोषणा गरेका छन्। रास्वपाको वाचापत्रमा समेटिएका विषयलाई कार्यान्वयनमा लैजान विस्तृत कार्ययोजना बनाउन पनि कार्यदल बनाइने उनले बताएका छन्।

वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसअनुसार पुराना र अप्रासंगिक कानुनहरू खारेज तथा संशोधन गर्ने प्रक्रिया अगाडि बढाइने उल्लेख गरे। साथै, निजी क्षेत्रलाई सुरक्षित वातावरण दिने, ठूला आयोजनालाई तीव्रता दिने र बजेट निर्माणमा केन्द्रित हुने योजना रहेको उनले जानकारी दिए।

हाल अर्थतन्त्रमा केही शिथिलता देखिए पनि सकारात्मक संकेतहरू पनि देखिएको उनको भनाइ छ। राजस्व संकलन चुनौतीपूर्ण रहे पनि बैंक निक्षेप बढेको भन्दै उनले प्रणालीगत सुधारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता जनाए।

उनले अब टुक्रा–टुक्रा सुधारभन्दा समग्र प्रणाली सुधारमा ध्यान केन्द्रित गरिने बताउँदै जनताको अपेक्षाअनुसार इमानदार प्रयास गरिने आश्वासन दिएका छन्। साथै, सुधार प्रक्रियामा समय लाग्ने भएकाले धैर्य राख्न समेत उनले आग्रह गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत