शुक्रबार, बैशाख १४, २०८१

पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती


कान्तिपथ


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ ।

भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिनुभयो ।

सरकारले पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो । यस क्षेत्रका विज्ञ एवं जानकारहरूले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन् ।

पर्यटन मन्त्रालयले पनि विभिन्न समयमा पर्यटन ऐनको मस्यौदा तयार गरेर चरणबद्ध छलफल गर्दै आएको थियो । पर्यटनमन्त्री किरातीले विज्ञ सरोकारवालाको राय सुझाव लिएर पर्यटन ऐन बनाइने उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री किरातीले देशको विद्यमान विकासको ढाँचा परिवर्तन नगरेसम्म मुलुकको सन्तुलित विकास नहुने बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाले गौरवशाली इतिहास बोकेको अथाह सम्भावनायुक्त भोजपुरको भविष्य राम्रो रहेको उल्लेख गर्नुभयो । भौतिक प्रगतिका हिसाबले केही पछि परे पनि शैक्षिक उन्नयनमा भोजपुर अग्र स्थानमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री हेमराज राईले भोजपुरको सम्भावनालाई विकास र समृद्धिसित जोड्न सबै क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले भोजपुरको इतिहासलाई केन्द्रमा राखेर विकासमा सबै सरोकारवालाले ध्यान दिन जरुरी भएको बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत