वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएका धादिङ्गका ३१ वर्षीय टिका बहादुर तामाङ्ग अलपत्र परेका छन् । साउदीमा विरामी भएर अलपत्र परेका तामाङ्गले कम्पनीले उपचार नगरेको भन्दै उद्दारको लागि हारगुहार गरेका छन् । कान्तिपथलाई अडियो म्यासेज पठाएर उनले उद्दारमा सहजीकरण गर्नका लागि भनेका हुन् ।
अडियोमा उनले आफु बिरामी भएको र लगातार रगत वान्ता गर्ने गरेको बताए । उनका अनुसार उनलाई कम्पनीले हेरचाह गरेको छैन । नेपाल पठाऊ भन्दा कम्पनीले नपठाएको उनले गुनासो गरे । डेढ महिनादेखि मुटु दुखेर आफुले रगत वान्ता गर्न थालेको उनले बताएका छन् । उनले जसरी भएपनि आफुलाई उद्दारका लागि पहल गरिदिन भनेका छन् । डेढ लाख खर्च गरेर आफु विदेश आएको तर अहिले कम्पनीले नहेरेको बताए । उनले आफुलाई खानको पनि उचित व्यवस्था नभएको बताएका छन् ।
उनको पासपोर्ट, अस्पतालको कागजपत्र सबै कम्पनीले नै थुनेर राखेको छ । आफु अहिले केहि नेपालीहरुको साथमा बसेको उनले बताए । साउदीको रियाद पुगेका उनी सामाखुसीको कान्तिपुर म्यानपावरबाट गएका हुन् । अस्पतालले आफुलाई इण्डोस्कोपी गराउन भनेपनि कम्पनीले नमानेको बताए ।