बेलारुसले रुसले सुरु गरेको युद्धका लागि आफ्ना सैनिक पठाउने तयारी गरेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका छन् । युक्रेनसँग सीमा जोडिएको बेलारुस रुसको निकट रहँदै आएको छ । रुसी सैनिक अहिले पनि बेलारुसमा छन् र त्यहाँबाट आक्रमण भइरहेको युक्रेनको भनाइ छ ।
बेलारुसले सोमबार नै आफ्ना सेना युक्रेन पठाउन सक्ने दाबी छ । यस्तै युक्रेनको स्वतन्त्र सञ्चारमाध्यम द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उद्धृत गर्दै बेलारुसले सैनिक पठाउने तयारी गरेको जनाएको छ ।
तर युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले आइतबार टेलिफोन संवादको क्रममा बेलारुसी राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले युक्रेनमा आफ्ना सैनिक नपठाउने वाचा गरेको बताएका थिए ।
बेलारुसले परमाणु हतियार प्रयोग गर्न वा राख्नका लागि आफ्नो संविधान नै परिवर्तन गरेको छ । सोभियत युनियनको पूर्व सदस्य तथा हाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको सहयोगी बेलारुसले परमाणु हतियार बन्देज गर्ने संवैधानिक व्यवस्थानै परिवर्तन गरेको हो ।
आइतबार मतदान (जनमतसंग्रह) मार्फत बेलारुसले नयाँ संविधान लागु गर्ने निर्णय गरेको हो । नयाँ संविधानले बेलारुसलाई परमाणु हतियार बिहीन राष्ट्रको पहिचान खारेज गरेको छ । अब बेलारुसले परमाणु हतियार राख्न पाउने भएको छ ।
सन् १९९० मा स्वतन्त्रता प्राप्त गरेपछि पहिलोपटक बेलारुस परमाणु हतियारमा फर्किएको हो । युक्रेनमा रुसी आक्रमणका लागि अब बेलारुस थप महत्वपूर्ण भूमि बन्ने देखिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ