बिहिबार, माघ २४, २०८१

झोलुङ्गे पुलले छोट्यायो यात्रा अवधि


कान्तिपथ


तनहुँको भानु नगरपालिका–१ कल्याणटार र बन्दीपुर गाउँपालिका–१ भुडाटार जोड्ने चुँदीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । झोलुङ्गे पुल नहुँदा लामो यात्रा गर्नुपर्ने यस भेगका स्थानीयवासीलाई झोलुङ्गे पुलले सहज भएको छ ।

बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लागत सहभागितामा झोलुङ्गे पुल निर्माण भएपछि यस भेगका जनताको यात्रा अवधि छोटिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोपाल न्यौपानेले जानकारी दिनुभयो । यहाँ पुल नहुँदा स्थानीयवासी यसअघि चार किलोमिटर टाढा डुम्रेमा रहेको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता थियो । “झोलुङ्गे पुल बनेपछि चार किलोमिटर बाटो छोटो भयो, नत्र भने चार किलोमिटर टाढासम्म हिँडेर आवतजावत गर्नुपथ्र्यो,” उहाँले भन्नुभयो ।

विसं २०७८ वैशाख १३ गते पुल निर्माणका लागि सम्झौता भएकामा हालै मात्र पुल निर्माण सम्पन्न भएको छ । पुलको औपचारिक शुभारम्भ भने हुन बाँकी छ । ८५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि छ सयभन्दा बढी घरधुरीका तीन हजार छ सयभन्दा बढी जनसङ्ख्या लाभान्वित भएका छन् । झोलुङ्गे पुलले भानु नगरपालिकास्थित मैवल र नावरुङका सर्वसाधारणलाई पनि घुमाउरो बाटो नघुमी सिधै डुम्रे आउन सहज भएको स्थानीयवासी प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।

रु ३९ लाख ५१ हजार २४ को लागतमा पुल निर्माण भएको छ । गैरसरकारी संस्था समन्वय समिति तनहुँको सामाजिक तथा प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख १३ हजार ६३३ सहयोग गरेको छ भने स्थानीयवासीले ७९ हजार २० जनश्रमदान गरेका छन् । दातृ संस्थाले रु ३३ लाख ५८ हजार ३६९ सहयोग गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत