नेपालमा २०६२/६३ को राजनीतिक परिवर्तनपछि विकास र समृद्धिले नयाँ गति लिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । चितवनमा विद्युत् सबस्टेसन उद्घाटन गर्दै दाहालले पछिल्लो समय लोडसेडिङबाट जनतालाई मुक्त गरेको उल्लेख गर्दै भावि सन्ततिका लागि विकासको नयाँ मोडेल निर्माणको काम अगाडि बढेको बताए ।
दाहालले विगतमा विकासका कुरा भएको तर काम नभएको पनि बताए । उनले राजनीतिक व्यवस्था परिवर्तनपछि मुलुकमा विकासले गति लिएको बताए । ‘हिजोका राजा, महाराजाले ठूल्ठूला कुरा त गरे तर जनतालाई सेवा दिने, राहत दिने कुरामा हामी सयौं वर्ष उही स्थिति भोग्दै आयौं,’ उनले भने, ‘क्रान्तिकारी परिवर्तनपछि विकास र समृद्धिले पनि नयाँ गति लिन थालेको छ । त्यसैको प्रमाण हो लोडसेडिङ मुक्त नेपाल । त्यस्तै, यातायात, कृषि, शिक्षा, सिंचाइ सबै क्षेत्रमा आमूल परिवर्तन गर्नसक्ने स्थितिमा पुगेका छौं ।’
सो कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ पनि उपस्थित थिए । सोही समारोहमा अध्यक्ष प्रचण्डले ऊर्जामन्त्री भुसाल र महानिर्देशक घिसिङको तारिफमा समय खर्चिए ।
अध्यक्ष प्रचण्डले इमान्दारिता र दृढताका साथ काम गरे देश बनाउन समय नलाग्ने बताए । ‘साँच्चै इमान्दारिताका साथ दृढताका साथ उपाय खोजेर बनाउन लागे देश बनाउन धेरै समय लाग्दो रहेनछ’, उनले भने, ‘जसरी ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत प्राधिकरणले विद्युत उत्पादनसँगको कामलाई प्रगति गर्यो । सबै मन्त्रालयले त्यसरी नै काम गर्ने हो भने यो देश बनाउन धेरै वर्ष लाग्दो रहेनछ ।’
उनले विद्युत प्राधिकरणमा घिसिङलाई ल्याउन गरेको निर्णयमा पनि गर्व लागेको बताए । ‘हामीले लिएको निर्णयप्रति पनि गर्व गर्दछु । यो क्षेत्रमा योगदान पुर्याउने सबैलाई धन्यवाद,’ उनले भने ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ