आइतवार, माघ २७, २०८१

श्रीलङ्कामा कफ्‌र्यु उलङ्घन गरेको आरोपमा ६६४ जना पक्राउ


कान्तिपथ


श्रीलङ्कामा सरकारले लागू गरेको कफ्‌र्यु उलङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ ।

स्थानीय समय अनुसार शनिबार राती १० बजेदेखि आइतबार बिहान ६ बजेको बिचमा देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।

सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्‌र्यु आदेश जारी गरेको छ । कफ्‌र्यु लागू भएका बेला अनुमति विना हिँड्डुल गर्न नपाइने भएपनि हिँड्डुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले जानकारी दिनुभयो।

आर्थिक सङ्कटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरु विरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकालको घोषणा गरेको छ ।

आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गरेपछि उनीहरु र सुरक्षाकर्मी बीच झडप समेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि घाइते भएका थिए ।

चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले सङ्कटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ ।

सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि आदेश जारी गरेको छ । राजधानी कोलम्बो लगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरु आन्दोलित भएका हुन ।

सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण आन्दोलित भएका हुन् । अघिल्लो साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत