शुक्रबार, मंसिर १९, २०८२
  • गृहपृष्‍ठ
  • अर्थ वाणिज्य
  • वनमा फलफूलका बिरुवा लगाउँदा सामुदायिक वन उपभोक्ता समूहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग

वनमा फलफूलका बिरुवा लगाउँदा सामुदायिक वन उपभोक्ता समूहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग


कान्तिपथ


हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो । बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले वनमा उत्पादन गर्न सकिने फलफूलका बिरुवा लगाउन सुरु गरेको हो । पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक वनमा फलफूल लगाइएको छ । जापानिज नास्पाती, एभोगाडो, प्लम, टिमुरलगायतका फलफूल र औषधिजन्य जडीबुटीका बिरुवा वनमा लगाइएको लामिछानेले बताउनुभयो । साङ्खोला सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा दुई हजार ५०० बिरुवा लगाइएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय बागलुङ, कृषि ज्ञान केन्द्रलगायतका संस्थाले वडाको अभियानमा बिरुवा सहयोग गरेका थिए

। रेशकै मौवाघारी सामुदायिक वनमा पनि परीक्षणका रूपमा फलफूलका बिरुवा लगाउन थालिएको उहाँले बताउनुभयो । वनमा फलफूलका बिरुवा लगाउँदा सामुदायिक वन उपभोक्ता समूहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग पुग्ने वडाको विश्वास छ । “चिलौने, उत्तिस, अँगेरीलगायतका बिरुवाको वनले मात्रै उपभोक्तालाई फाइदा दिन सक्दैन”, उहाँ भन्नुभयो, “वनको खाली जग्गामा लगाइएको फलफूलले बहुवर्षे उत्पादन दिँदा समूहमा रहेका सबैलाई फाइदा हुन्छ ।” वन पनि नमासिने र फलफूल पनि हुर्किने गरी खाली जमिनमा बिरुवा लगाउन वडाले भनेको छ । बाँदरले खान मिल्ने फलफूल वनमै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने वडाको विश्वास छ । टिमुरलगायतका औषधिजन्य जडीबुटीबाट सामुदायिक वनले आयआर्जन गर्न सक्ने स्थानीय रामचन्द्र शर्माले बताउनुभयो ।

“फलफूलकै वन बनाउँदा केही बिग्रिने होइन, भएका रुख नमास्ने र खाली जमिनमा फलफूल लगाउने गरिएको छ”, उहाँले भन्नुभयो, “बाँझो जमिनमा पनि उत्पादनसँग जोडिने खेती गर्न थालिएको छ ।” रेशमा नौ सामुदायिक वन छन् । सबै सामुदायिक वनमा क्रमशः फलफूल खेती विस्तार गर्ने योजना रहेको लामिछानेले सुनाउनुभयो । अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख खर्चेर फलफूल तथा जडीबुटीका बिरुवा लगाएको वडाले ती बिरुवाको संरक्षण र गोडमेलको जिम्मेवारी सामुदायिक वनलाई नै दिएको छ । पशुपालन र खेतीपाती धेरै हुने रेशका सामुदायिक वनमा हुने घाँसले किसानलाई सहयोग गर्ने गरेको छ । फलफूल तथा जडीबुटी उत्पादन सुरु हुँदा किसान उपभोक्तालाई आर्थिकरूपमा थप सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत