बिहिबार, बैशाख ६, २०८१

पुनः निर्माण हुँदै गोरेटा बाटा


कान्तिपथ


दश वर्षअघिसम्म बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका सबै टोलमा गोरेटो बाटो थिए । गाउँमा सवारी चल्ने सडक विस्तारको लहर चल्यो मानिस र गाईवस्तु ओहोरदोहोर गर्ने गोरेटा बाटो मासिन थाले ।

बनेका सडक विस्तार होस् वा नयाँ बन्ने सडक किन नहुन् ? सबैको पहिलो प्रहार बन्यो, गोरेटो बाटो । थोरै भए पनि सार्वजनिक जग्गा पर्ने, पहिलैकै बाटो हुँदै सडक बनाउँदा सहज हुने र बिना स्टिमेट बन्ने सडकका लागि पहिलेकै गोरेटो पदप्रदर्शक बन्ने भएकाले धेरैले त्यसै गरे । तर अहिले तिनै गोरेटाको अभावमा गाउँले जीवन कष्टकर बन्दै गइरहेको छ ।

सडक सबैका घर–घरमा पुग्दैन । गाउँमा मेलापात होस् वा जन्ती र मलामी जाँदा होस् हिउँदमा हिलाम्मे र वर्षाको समयमा धुलाम्मे हुने सडकले अहिले पुराना गोरेटाको याद दिलाउँछन् । भीमापोखरामात्रै होइन, बागलुङ जिल्लाभर रहेका अधिकांश वडामा रहेको समस्या हो यो । गोरेटोबाटो मासिँदा गाउँले जीवन प्रभावित भएपछि भीमापोखराले मर्मत तथा निर्माणको अभियान थालेको छ । पछिल्लो दुई वर्षमा चार किलोमिटर बढी गोरेटो बाटो मर्मत तथा निर्माण भइसकेको वडाले जनाएको छ ।

“हाम्रो वडाका सबै टोलमा गोरेटो बाटो पुगेको छ, अहिले मर्मत भएको गोरेटो बाटोले मेलापात ओहोरदोहोर गर्न सजिलो छ”, स्थानीय सविना शर्माले भन्नुभयो, “पहिलै मास्न हुन्थेन, अहिले भए पनि बनेका छन् ।” सडक बनाउँदा गोरेटो काटेर बनेका अग्ला कान्ला र माटो भरिएर बनेको भीमाका स्थानीयवासीले कष्टले यात्रा गर्ने गरेका थिए । अप्ठ्यारो छिचोलेर पुरानो गोरेटोमा पुग्दा मानिसको आवतजावत कम भएकाले गोरेटोमा जङ्गल भरिएको थियो ।

“पहिले हामीले डहर भन्थ्यौँ, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामीले देखेका छौँ”, वडाध्यक्ष विद्यापति शर्माले भन्नुभयो, “सवारी कुद्ने सडकमात्रै सबै कुरा होइन भन्ने लाग्यो, हामीले धेरै गोरेटा बाटो मर्मत र पुनःनिर्माण गरेका छौँ ।”

सार्वजनिक खरिद ऐनमा कुनै नयाँ संरचना बनाउँदा बनिरहेका पुराना संरचना भत्किएमा नयाँ बन्ने योजनाले नै पुराना संरचना पुनःनिर्माण गर्नुपर्ने व्यवस्था छ । तर उपभोक्ता समितिमार्फत बन्ने सडक हुन् वा निर्माण व्यवसायीले बनाउने सडक, कसैले पनि गोरेटोमा ध्यान दिएको पाइँदैन । “सहरको जस्तो अवस्था गाउँमा हुँदैन, सबै कामका लागि सवारी प्रयोग हुन्छन् भन्ने छैन, पैदल हिँड्न सडकमा कठिन हुन्छ”, शर्माले भन्नुभयो, “मेलापात, जन्ती, मलामी, वल्लोगाउँ पल्लोगाउँ गर्ने बाटासमेत नभएकाले हामीले गोरेटो पुनःनिर्माण थालेका हौँ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी मजदुरको प्रयोग गरेर वडाले गोरेटो बाटो निर्माण गरेको छ । यो कार्यक्रमको परिचालन गर्दा बेरोजगारको सूचीमा रहेका सबैले सहजै काम पनि गर्न सक्ने र परिणाम पनि राम्रो आएको वडाध्यक्ष शर्माको भनाइ छ । धमाधम टोलटोलमा गोरेटो बाटो मर्मत र निर्माणका काम हुन थालेपछि स्थानीयवासी हर्षित छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत