काठमाडौं । नेकपा एमालेबाट बाहिरिएर माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्र घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिइएको छ । घोषणा पत्रमा स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकता स्वास्थ्य उपचारलाई राखिने उल्लेख छ । जटिल शल्यक्रियाबाहेकका उपचारहरु स्थानीय अस्पतालबाटै निःशुल्क प्रदान गरिने घोषणा पत्रमा भनिएको छ । साथै, सबै पालिकामा एम्बुलेन्स अनिवार्य गरिएको छ ।
सामुदायिक र सरकारी शिक्षाको गुणस्तर खस्क्दै जाँदा यसतर्फको गुणस्तर बढाउन र सुधार्न अघि बढ्ने घोषणा पत्रमा प्रतिबद्धता जनाइएको छ । यस्तै, पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क उपलब्ध गराइने, प्रत्येक घरपरिवारलाई वार्षिक २ सय युनिटसम्म बिजुली निशुल्क दिने घोषणा पत्रमा उल्लेख छ ।
‘संरक्षित कृषि बजार : किसानको जीवनमा बहार’ नाराका साथ खेती किसानीबाट ज्यालासमेत नउठ्ने र ग्रामिण क्षेत्रको दक्ष जनशक्तिलाई पलायन हुन नदिने पनि भनिएको छ । र, किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन शीत भण्डार, दूध चिस्याउने केन्द्र तथा कृषिजन्य सकंलन केन्द्रको व्यवस्था गरिने पनि घोषणा पत्रमा उल्लेख छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ