आइतवार, बैशाख ९, २०८१

ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि कृषि सहकारी संस्था


कान्तिपथ



सुनसरीको बर्जु गाउँपालिकास्थित सबल साना किसान कृषि सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको ती संस्थाले बचत तथा ऋण सेवादेखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, बीउ, प्राविधिक सेवा र बजार व्यवस्थापनका काममा प्रभावकारी भूमिका खेल्न थालेका छन् । यसका साथै सो संस्थाले आगामी वर्षदेखि प्रवाह गर्ने सेवा र सुविधामा वृद्धि गर्दै लैजाने नीति लिएको बताइएको छ ।

झन्डै तीन वर्षअघि स्थापना भएको सो संस्था साना किसानलाई एकीकृत गरी बचत र ऋण लगानी गर्ने तथा कृषि उत्पादन बढाउन र बालीमा विविधता ल्याउने प्रयासमा केन्द्रीत भएको देखिन्छ । किसानको जीवनस्तर उकास्न हरेक प्रयास र सम्भावनाको खोजीमा रहेको यो संस्थाका अध्यक्ष इन्द्रजीत चौधरीले बताउनुभयो ।

भण्डारण र यान्त्रिकीकरणका लागि संस्थाले सोही ठाउँमा चार कठ्ठा पाँच धुर जग्गा खरिद गरिसकेको छ । सरकारले तोकिएको समर्थन मूल्यमा संस्थाले किसानबाट गत वर्षमा १२ हजार क्वीन्टल धान खरिद गरेको थियो । संस्थाले विभिन्न बैंकमार्फत किसानलाई धानको खरिद मूल्य भुक्तानी गरेको थियो । ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत सो संस्थालाई साना किसान सहकारी बैंकले परिपक्कताको प्रमाणपत्र तथा जिल्ला सहकारी सङ्घ सुनसरीले पुरस्कृत गरिएको छ ।

अन्य बैंकसँग ऋण लिएर पनि किसानको समस्या सम्बोधन गर्ने गरेको व्यवस्थापक चौधरीको भनाइ छ । छरिएर रहेका किसानलाई एकीकृत गर्न संस्था सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

यहाँका किसान सीतागञ्ज शाखा नहर, चन्दा मोहन नहर, बोरिङ र आकाशे पानीको भरमा खेती गर्ने गरेका छन् । संस्थाले भण्डारण गर्न बनाउने गोदाम घरका लागि धेरै रकम चाहिने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ छ ।

प्रदेश नं १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिेनाले ग्रामीण क्षेत्रमा कृषकले गरेको मेहनत र प्रयासलाई परिणामुखी बनाउन कृषकको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत